गृहपृष्ठ नगरपालिका संघको ३२औं वार्षिकोत्सवमा सिद्धार्थनगरलाई राष्ट्रिय सम्मान

नगरपालिका संघको ३२औं वार्षिकोत्सवमा सिद्धार्थनगरलाई राष्ट्रिय सम्मान


भैरहवा, ७ चैत
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै देशभरका नगरपालिकामध्ये उत्कृष्ट बन्न सफल भएको छ।
नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०÷८१ मा उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको हो।

संघको ३२औं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई “उत्कृष्ट नगरपालिका पुरस्कार–२०८१“ द्वारा सम्मानित गरे।

संघले हरेक वर्ष देशभरका नगरपालिकामध्ये विभिन्न सूचकांकको आधारमा उत्कृष्ट नगरपालिकालाई पुरस्कार प्रदान गर्दै आएको छ।
यस वर्ष सिद्धार्थनगर नगरपालिकाले ८५ प्रतिशत अंकसहित उत्कृष्टता हासिल गरेको हो।

नगरप्रमुख खाँले भने, “हामी जनप्रतिनिधि, कर्मचारी तथा नगरबासीहरूको संयुक्त प्रयास र योगदानबाट यो उपलब्धि सम्भव भएको हो।“
उनले यो पुरस्कारले कामप्रति थप जिम्मेवारी र प्रेरणा दिएको उल्लेख गरे। आगामी दिनमा सर्वोत्तम सूचकांकहरूमा नगरपालिका अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाले सहरी योजना, यातायात व्यवस्थापन तथा खानेपानी क्षेत्रमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु