गृहपृष्ठ तिलोत्तमा क्याम्पसमा बीबीए २८औँ ब्याचको सामाजिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
तिलोत्तमा क्याम्पसमा बीबीए २८औँ ब्याचको सामाजिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
असाेज २२,२०८३
बटवल टाइम्स
कल्पना घिमिरे
तिलाेत्तमा -तिलाेत्तमा क्याम्पसमा बीबीए २८औँ ब्याचमा भर्ना भएका नवप्रवेशी विद्यार्थीका लागि सामाजिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पसको शैक्षिक वातावरण, पाठ्यक्रम, नियम तथा गतिविधिबारे जानकारी गराउँदै विद्यार्थीबीच आपसी परिचय, सहकार्य र संवाद अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
क्याम्पस प्रमुख तुलसी प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले क्याम्पसले उपलब्ध गराएका शैक्षिक अवसरको अधिकतम सदुपयोग गर्दै क्षमता तथा व्यक्तित्व विकासमा सक्रिय हुन विद्यार्थीलाई आग्रह गरे। व्यवस्थापन शिक्षामा तीन दशकभन्दा लामो इतिहास बोकेको तिलोत्तमा क्याम्पस लुम्बिनी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक रहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई अनुशासन र लगनशीलताका साथ अध्ययनमा अघि बढ्न सुझाव दिए।
व्यवस्थापन निर्देशक प्रविन ज्ञवालीले विद्यार्थीको सिकाइ, व्यक्तित्व विकास र करिअर निर्माणका लागि क्याम्पसले आवश्यक सहयोग तथा मार्गदर्शन प्रदान गर्ने बताए। उनले ज्ञान र सीपसँगै नैतिकता, जिम्मेवारीबोध र सकारात्मक व्यवहारको विकासमा जोड दिए।
प्राध्यापक मुकुन्दराज आचार्यले बीबीए अध्ययनको महत्व र व्यावहारिक उपयोगिताबारे जानकारी गराउँदै व्यवस्थापन शिक्षाले प्रतिस्पर्धात्मक बजारका लागि आवश्यक ज्ञान, सीप र क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
त्यस्तै, प्राध्यापक विकास भाट क्षेत्रीले बीबीए कार्यक्रमको पाठ्यक्रम संरचना, मूल्याङ्कन प्रणाली, ग्रेडिङ प्रक्रिया, आचारसंहिता तथा विद्यार्थीले पालना गर्नुपर्ने शैक्षिक नियमबारे जानकारी गराए।
कार्यक्रममा प्राध्यापक अर्जुन गौतम र आशिष भण्डारीले विभिन्न व्यवस्थापन खेल तथा समूहगत गतिविधि सञ्चालन गरेका थिए। गतिविधिमा विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो। यसले आपसी परिचयसँगै समूहकार्य, नेतृत्व र सञ्चार सीप विकासमा सहयोग पुगेको जनाइएको छ।
कार्यक्रमका अतिथि तथा फोकल पर्सन इन्जिनियर सुदीप ढकालले वास्तविक जीवनका उदाहरण प्रस्तुत गर्दै बदलिँदो समय र रोजगारी बजारमा व्यवस्थापन शिक्षाको महत्वबारे चर्चा गरे। उनले कक्षाकोठामा सिकेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न विद्यार्थीलाई प्रेरित गरे।
कार्यक्रमको सञ्चालन बीबीए प्रथम सेमेस्टरका विद्यार्थी अमित खनाल र गीतिका कँडेलले गरेका थिए।
अभिमुखीकरणबाट क्याम्पसको शैक्षिक वातावरण, पाठ्यक्रम, नियम तथा अध्ययन प्रक्रियाबारे स्पष्ट जानकारी प्राप्त भएको विद्यार्थीहरूले बताएका छन्। साथै, समूहगत तथा अन्तरक्रियात्मक गतिविधिले नयाँ साथीहरूसँग घुलमिल हुन र क्याम्पस जीवनमा सहज हुन सहयोग पुगेको उनीहरूको भनाइ थियो।कार्यक्रमबारे प्राध्यापक कल्पना न्यौपानेले जानकारी दिइन्।

















