गृहपृष्ठ जनताको विश्वास जित्ने गरी पार्टी र नेतृत्व अघि बढ्नुपर्छ : सांसद पाठक

जनताको विश्वास जित्ने गरी पार्टी र नेतृत्व अघि बढ्नुपर्छ : सांसद पाठक

oplus_48

असाेज २२,२०८३

बुटवल टाइम्स
कल्पना घिमिरे

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद देवराज पाठकले जनताको घरदैलोमा पुगेर विश्वास जित्ने गरी पार्टी र नेतृत्व अघि बढ्नुपर्ने बताएका छन्।
रुपन्देही क्षेत्र नं. २ मा आयोजित रास्वपाको ‘हामी आउँदैछौँ’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै पाठकले जनताले चाहेको नेतृत्व स्थापित गर्ने गरी अहिलेबाटै तयारी थाल्नुपर्ने बताए। उनले जनतामाझ पुगेर ‘जनताले यही नेता चाहन्छन्’ भन्ने वातावरण बनाउनुपर्ने धारणा राखे।
कार्यक्रममा क्षेत्र नं. २ का विभिन्न वडा तथा नगर तहका सभापति र कार्यकर्ताले पार्टीको आगामी रणनीति, उम्मेदवार छनोट, नेतृत्वको भूमिका तथा संगठन निर्माणलगायत विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए। ती प्रश्नको जवाफ दिँदै पाठकले जनताको विश्वासमा आधारित भएर अघि बढ्न सके उम्मेदवारका रूपमा अघि बढ्ने विषयमा समेत अन्योल नरहने बताए।
उम्मेदवार छनोट गर्दा पहुँच, सम्बन्ध वा अन्य आधारभन्दा पार्टीका लागि दुःख गरेको, काम गरेको र जनतामाझ स्थापित व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। केन्द्रदेखि स्थानीय तहसम्म कानुन, प्रशासन र संगठनलाई व्यवस्थित गर्दै इमानदार उपस्थिति स्थापित गर्नुपर्नेमा उनले जोड दिए।
सरकारलाई सचेत गराउने र संसदबाट निरन्तर खबरदारी गर्ने काम सांसदको महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै पाठकले सरकार र संसद्को भूमिका फरक हुने स्पष्ट पारे। आफ्नै सरकार भए पनि आवश्यक ठाउँमा प्रश्न उठाउने र कमजोरीप्रति खबरदारी गर्नुपर्ने उनले बताए।
विगतका सफलताबाट सिक्दै सफल हुने बाटो पहिल्याउन तथा असफलताबाट कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताउँदै पाठकले प्रतिस्पर्धात्मक संसारमा निरन्तर सिक्दै र सुधार गर्दै अघि बढ्नुपर्ने धारणा राखे।

रुपन्देही–२ का सांसद सुलभ खरेलले समयअनुकूल कानुन संशोधन गर्नुपर्ने बताउँदै यस वर्ष सबैभन्दा धेरै कानुन निर्माणतर्फ अघि बढिएको बताए। प्रणालीअनुसार देश सञ्चालन हुनुपर्नेमा जोड दिँदै चालु वर्षलाई कानुन निर्माणको वर्षका रूपमा अघि बढाइएको उनको भनाइ थियो।

त्यस्तै, मञ्जु भुसालले अब ‘हामी नयाँ हौँ’ भनेर उम्किन नमिल्ने बताउँदै जनताका गुनासा तथा विकासका सवालमा गम्भीर भएर काम गर्नुपर्ने धारणा राखिन्। क्षेत्रका विकास तथा पूर्वाधारसम्बन्धी विषय संसद् तथा सरकारसमक्ष जानकारी गराइएको उनले बताइन्।

कार्यक्रममा रास्वपा जिल्ला सभापति महेन्द्रप्रसाद उपाध्यायले स्थानीय तहदेखि जिल्ला, प्रदेश हुँदै केन्द्रका प्रतिनिधिसँग प्रत्यक्ष रूपमा आफ्ना गुनासा, जिज्ञासा तथा संगठनका विषयमा कुरा राख्न पाउने अवसर सिर्जना भएको बताए। यसले तल्लो तहका समस्या, सुझाव र जिज्ञासा सम्बन्धित प्रतिनिधिसमक्ष प्रत्यक्ष रूपमा पुर्‍याउन सहज भएको उनको भनाइ थियो।

रास्वपाको रुपन्देही क्षेत्र नं. २ मा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति विष्णु पौडेलको सभापतित्व रहेको थियो। कार्यक्रममा क्षेत्रीय उपसभापति शोभा खत्रीले स्वागत मन्तव्य तथा क्षेत्रीय सचिव विकास थापाले सञ्चालन गरेका थिए। कार्यक्रमको अन्त्यमा सभापति पौडेलले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा उल्लेखनीय सहभागीता थियोे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु