गृहपृष्ठ रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्ने निर्णय, सार्वजनिक कार्यक्रममा रोक

रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्ने निर्णय, सार्वजनिक कार्यक्रममा रोक


 

असाेज ,२७  , २०८३

बुटवल टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ । पार्टीले उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ ।

पार्टीले सुनारसँग सम्बन्धित प्रकाशित समाचार, सार्वजनिक श्रव्य सामग्री र उनीमाथि उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाउँदै केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

पार्टीका महामन्त्री विपिन आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय गम्भीर र संवेदनशील रहेको उल्लेख गरेका छन् ।

विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसक्ने स्पष्ट पारेको छ ।

महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको विज्ञप्तिमा जनाइएको छ । आरोपबारे अनुसन्धान गर्न राज्यका निकायलाई समेत सहयोग गर्ने पार्टीले जनाएको छ ।

सांसद सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । उक्त विषयमा पार्टीले आन्तरिक छानबिन अघि बढाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु