गृहपृष्ठ सक्षम सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न
सक्षम सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न
असाेज २५,२०८३
बुटवल टाइम्स
कल्पना घिमिरे
बुटवल । बुटवल उपमहानगरपालिका–८, सुख्खानगरमा रहेको सक्षम सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। २०६५ असार २५ गते स्थापना भएको संस्थामा हाल ५६३ जना सेयर सदस्य आबद्ध छन्। संस्थामा २९७ पुरुष र २६६ महिला सदस्य रहेका छन् भने बाल बचतकर्ताको संख्या ७९ पुगेको छ।
साधारणमा सभाका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाको सहकारी विभागका प्रमुख गुणाखर खनालले अन्य सहकारीमा ५० देखि ६० प्रतिशतसम्म तरलता रहेको अवस्थामा सक्षम सहकारीमा १८ प्रतिशतभन्दा कम तरलता रहनु राम्रो पक्ष भएको बताउनुभयो। अन्य सहकारीको तुलनामा सक्षम सहकारीको अवस्था उत्कृष्ट रहेको उल्लेख गर्दै उहाँले ऋण लगानी गर्दा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
संस्थाका अध्यक्ष लिलाधर लुइँटेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको संस्थागत विकास, कार्यक्षेत्र विस्तार तथा सेयर सदस्य वृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले सदस्यहरूलाई सहकारीप्रति थप आकर्षित गर्न सहकारी शिक्षा, वित्तीय साक्षरता तथा सीपमूलक तालिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। सहकारीलाई थप व्यवस्थित, प्रभावकारी र सदस्यकेन्द्रित बनाउँदै लैजान समयसापेक्ष नीति तथा कार्यक्रम अवलम्बन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। साथै, सेयर सदस्यको हितलाई केन्द्रमा राखेर संस्थाको आर्थिक अवस्था सुदृढ बनाउने र सदस्यहरूलाई उचित प्रतिफल प्रदान गर्ने दिशामा सहकारीले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उहाँको भनाइ थियो
विशिष्ट अतिथि तथा संस्थाका सल्लाहकार दीपक रायमाझीले सेयर सदस्य सहकारीका इन्धन भएको उल्लेख गर्दै संस्थाको गतिविधिमा निरन्तर निगरानी राख्ने र आवश्यक प्रश्न सोध्ने कामबाट सदस्यहरू पछि हट्न नहुने बताउनुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका सल्लाहकार युवराज पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका योजना तथा कार्यक्रमलाई व्यवहारमा कार्यान्वयन गर्न सके संस्थाप्रति सदस्यहरूको विश्वास अझ मजबुत हुने बताउनुभयो। उहाँले संस्थाको प्रगति र दिगोपनका लागि पारदर्शिता, प्रतिबद्धता र जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, प्रदेश प्रमुखका निवर्तमान प्रेस सल्लाहकार तथा वरिष्ठ पत्रकार गुनाराम घिमिरेले थोरै सदस्य संख्या भए पनि संस्थाले राम्रो कारोबार गर्न सफल भएको बताउनुभयो। उहाँले संस्थाको थप विकास र विस्तारका लागि सेयर सदस्य संख्या बढाउन सबै सदस्यले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। उहाँहरूले संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यहरूको हितमा केन्द्रित बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
संस्थाका उपाध्यक्ष देवीराम पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै ‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने उखान उल्लेख गर्नुभयो। संस्थाको विकासका लागि सबै सदस्यको एकताबद्ध प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो।
सेयर सदस्यका तर्फबाट शुभकामना मन्तव्य राख्दै यमलाल भुसाल, कमलप्रसाद न्यौपाने, भेषराज पौडेल र कृष्णबहादुर थापाले संस्थालाई थप पारदर्शी बनाउँदै सेयर सदस्य लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँहरूले सहकारीको प्रभावकारी व्यवस्थापनमा व्यवस्थापकको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै व्यवस्थापक हुमलाल पौडेलको कार्यसम्पादनको प्रशंसा गर्नुभयो।
सभामा संस्थाका कोषाध्यक्ष हिमालय पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक कल्पना घिमिरेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपक खड्काले गर्नुभएको थियो।
साधारणसभाका अवसरमा संस्थाले ज्येष्ठ सेयर सदस्यतर्फ विष्णुमाया दमाई, बचततर्फ गंगा पाण्डे, ऋणतर्फ उषा यादव, बाल बचततर्फ शिवांश पौडेल र सदस्य विस्तारतर्फ लक्ष्मण भट्टराईलाई सम्मान गरेको छ। त्यस्तै, छात्रवृत्तितर्फ आयुष न्यौपाने र दिप्सन जंग रायमाझीलाई सम्मान गरिएको संस्थाले जनाएको छ।
संस्थाले आगामी दिनमा सेयर सदस्य विस्तार, आर्थिक अनुशासन, पारदर्शिता तथा सदस्यको हितलाई प्राथमिकतामा राख्दै सहकारीका गतिविधि अघि बढाउने जनाएको छ।

















