गृहपृष्ठ नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने मुद्दामा आजदेखि अन्तिम सुनुवाइ
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने मुद्दामा आजदेखि अन्तिम सुनुवाइ
२०८२ भदौ १६
काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजनासम्बन्धी मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ।
जिल्ला अदालत काठमाडौँमा करिब दुई वर्षदेखि विचाराधीन उक्त मुद्दा बुधबारदेखि अन्तिम बहसका लागि पेशी तोकिएको हो। हालसम्म साक्षी बयान र दस्तावेज प्रक्रियाहरू पूरा भइसकेपछि यो मुद्दा नियमित साप्ताहिक पेशी सूचीमा राखिएको छ।
स्रोतका अनुसार, प्रारम्भिक प्रमाणका आधारमा तत्कालीन जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकामाथि पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको थियो। पछिल्लो चरणमा केही अभियुक्त उच्च अदालतबाट धरौटीमा छुटेका छन् भने बाँकी अहिले पनि थुनामा रहेका छन्।
यो प्रकरण २०७८–८१ मा प्राथमिकतामा नपरेको थियो। वैशाखयता मात्रै शरणार्थी प्रकरणका मुद्दामा १० पटक साप्ताहिक र १६ पटक पूरक पेशी भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, किर्ते, सङ्गठित अपराध तथा राज्यविरुद्धको अपराधको आरोपमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो।








