गृहपृष्ठ एक दशकपछि समिर र यास्मिनले पाए आमाको नामबाट नागरिकता
एक दशकपछि समिर र यास्मिनले पाए आमाको नामबाट नागरिकता
माघ ८, २०८२
म्याग्दी । बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशक लामो प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेको हो। नागरिकताका लागि समिरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म प्रक्रिया पूरा गरी आवेदन दिएका थिए।
नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन कार्यान्वयनमा आएपछि आमाको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए।
समिर र यास्मिनकी आमा मनिरजा बेगम नेपाली नागरिक हुन् भने उनका श्रीमान् सलिम खान भारतको कलकत्ताका हुन्। ३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमा शृङ्गार व्यवसाय गर्दै आएकी छिन्। सलिम खानले भारतको नागरिकता त्यागिसकेको र नेपालमा भएका २०५२ र २०६४ सालका निर्वाचनमा मतदानसमेत गरेको बताएका छन्।
समिर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता रहेको छ। उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाउँदा उनीहरू पेसा, व्यवसाय, जागिर तथा वैदेशिक रोजगारीबाट वञ्चित हुँदै आएका थिए। नागरिकता पाएपछि बल्ल आफूहरू नागरिक भएको अनुभूति भएको उनीहरूको प्रतिक्रिया छ।
नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशित भएसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो। यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनले जिल्लामै पहिलोपटक आमाको नामबाट नागरिकता प्राप्त गरेकी थिइन्।










