गृहपृष्ठ प्रत्यक्षतर्फ २,९२५ उम्मेदवारी दर्ता, महिला ११ प्रतिशत
प्रत्यक्षतर्फ २,९२५ उम्मेदवारी दर्ता, महिला ११ प्रतिशत
माघ ६, २०८२
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ हालसम्म २,९२५ जनाको उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कुल उम्मेदवारमध्ये ३३६ जना महिला (११ प्रतिशत) र २,५८९ जना पुरुष (८८ प्रतिशत) छन्। यस्तै, अपाङ्गता भएका व्यक्तिबाट ८५ जना तथा पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको छ।
मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले आगामी निर्वाचन कार्यक्रमहरूमा पनि सबैको सहयोग रहने अपेक्षा व्यक्त गरे।
निर्वाचन कार्यक्रम अनुसार, माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। माघ ८ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।










