गृहपृष्ठ सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : मन्त्री पौडेल

सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : मन्त्री पौडेल


भदौ १९, २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा अटिजम स्कुल स्थापना गर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्रा. डा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित अध्ययन समितिले अटिजमसम्बन्धी प्रतिवेदन बुझाउँदा मन्त्री पौडेलले प्रारम्भिक चरणमा प्रत्येक प्रदेशमा कम्तीमा एक–एक विद्यालय सञ्चालन गर्नुपर्ने बताए ।

उनका अनुसार हाल काठमाडौँको बुढानीलकण्ठ–४ मा अटिजम स्कुल निर्माण प्रक्रिया सुरु भइसकेको छ । त्यसका लागि चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए । भवन निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भइसकेको र काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर काम अघि बढाइने उनले स्पष्ट पारे ।

मन्त्री पौडेलले भने, “काठमाडौँमा पहिलो चरणमा व्यवस्थित अटिजम स्कुल निर्माण गर्छौं । त्यसपछि सातै प्रदेशमा प्रारम्भिक चरणमा एक–एक स्कुल आवश्यक छ, जसलाई दीर्घकालीन परियोजनाको रूपमा अघि बढाइनेछ।”

नेपालमा हाल अटिजम भएका बालबालिकाको आधिकारिक तथ्याङ्क उपलब्ध नभएको मन्त्री पौडेलले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु