गृहपृष्ठ “गौतमबुद्ध सामुदायिक मुटु अस्पताल: स्वास्थ्य बिमा ढिलाइका बाबजुद सेवा निरन्तर”
“गौतमबुद्ध सामुदायिक मुटु अस्पताल: स्वास्थ्य बिमा ढिलाइका बाबजुद सेवा निरन्तर”
पुस ९, २०८२
कल्पना घिमिरे
बुटवल – गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पुस १० गतेदेखि १२औँ वर्ष पूरा गर्दैछ। सो अवसरमा अस्पतालले बुधबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आफ्ना सेवाहरू र भौतिक–आर्थिक चुनौतीका बारेमा जानकारी दिएको छ।अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालले लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई मुटु, मिर्गौला र जनरल फिजिसियन सेवा प्रदान गर्दै आएको छ। अहिलेसम्म अस्पतालले ४२ जिल्लाका ५ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ। अध्यक्ष आलमले भने, “हामी सीमित स्रोत र साधनका बाबजुद पनि विपन्न तथा आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन निरन्तर प्रयास गर्दै आएका छौं।”
तर चालु आर्थिक वर्ष २०७८/७९ मा मुटु र मिर्गौलाका बिरामीको उपचार खर्चको लागि सरकारले उपलब्ध गराउनुपर्ने २० करोड ३९ लाख रुपैयाँ मध्ये हालसम्म केवल २ करोड ५८ लाख रुपैयाँ मात्र प्राप्त भएको छ। बाँकी रकम पुस मसान्तसम्म भुक्तानी नभए, माघ १ गतेदेखि निःशुल्क उपचार सेवा रोक्नुपर्ने चेतावनी अध्यक्ष आलमले दिएका छन्।
स्वास्थ्य बिमा भुक्तानीमा ढिलाइका कारण अस्पतालले वित्तीय चुनौती भोगिरहेको छ। अध्यक्ष आलमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको तलब भुक्तानीमा कुनै समस्या नआओस् भन्ने व्यवस्था आवश्यक रहेको पनि औँल्याए।
विशेषगरी, सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रम को भुक्तानी कहिले स्वास्थ्य विभागबाट, कहिले स्वास्थ्य बिमा बोर्डबाट गरिनुले समस्या उत्पन्न भएको छ। आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य बिमाबाट स्वास्थ्य विभागमा सार्दा ६ करोड १९ लाख ७२ हजार रुपैयाँ अझै प्राप्त भएको छैन।
यस वर्ष स्वास्थ्य विभागबाट बिमा बोर्डमा सार्दा भुक्तानी फेरि ढिलाइको अवस्थामा रहेको छ। २०८१ देखि ८२ असारसम्म अन्य शाखाबाट र २०८१ चैतदेखि ८२ बैसाखसम्म बुटवलबाट प्रदान गरिएको डायलासिस सेवाको भुक्तानी मात्र ८५ लाख ४५ हजार रुपैयाँ काम प्राप्त भएको छ।”अस्पतालले भनेको छ, यी चुनौतीका बाबजुद पनि सम्पूर्ण प्रदेशका नागरिकलाई गुणस्तरीय सेवा दिइरहेको छ। आगामी दिनमा पनि सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता छ।”















