गृहपृष्ठ मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा गर्न खोजिएको भन्दै पत्रकार महासंघको आपत्ति

मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा गर्न खोजिएको भन्दै पत्रकार महासंघको आपत्ति


१९ भदौ,२०८२

जनकपुरधाम । मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल काठमाडौंमा आयोजना गर्न लागिएको भन्दै नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले तीव्र आपत्ति जनाएको छ।

गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आज बिहीबार काठमाडौंको कोटेश्वरस्थित एक रेष्टुरेन्टमा परामर्श गोष्ठी आयोजना गरिएको जानकारी आफ्नो ह्वाट्सएप ग्रुपमार्फत दिएका हुन्। तर यसबारेमा प्रमुख सरोकारवाला महासंघका प्रदेश र आठवटै जिल्ला शाखालाई औपचारिक जानकारी नगराइएको महासंघका महासचिव शैलेन्द्र महतो क्रान्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “प्रदेशमै सञ्चार क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन र तिनका संघ–संस्थालाई सहभागी नगराई राजधानीमा छलफल कार्यक्रम राखिएको घटना आफैंमा गम्भीर र नियतगत शङ्का उत्पन्न गर्ने खालको छ।”

महासंघले मधेशमै सम्पन्न हुनुपर्ने छलफल काठमाडौंमा सारिएको कदमलाई ‘प्रदेश सरकारको बजेट दुरुपयोग’ को संज्ञा दिएको छ। साथै, सरोकारवालाको सहभागिता र सहमति बिना अघि बढाइने संशोधन प्रस्तावहरू अस्वीकार्य हुने चेतावनी दिएको छ।

“संविधान २०७२ र सञ्चार–पत्रकारिता सम्बन्धी कानूनी व्यवस्थाविपरीत हुने कुनै पनि संशोधन कदम स्वीकार्य हुने छैन,” विज्ञप्तिमा भनिएको छ।

महासंघले सरोकारवालालाई पाखा लगाएर गरिने कुनै पनि छलफल वा गोष्ठी औचित्यहीन हुने ठहर गर्दै त्यसविरुद्ध प्रतिकार गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु