गृहपृष्ठ तिलोत्तमा गोल्ड कप चैत्र ९ गतेदेखि सुरु हुँदै
तिलोत्तमा गोल्ड कप चैत्र ९ गतेदेखि सुरु हुँदै
रुपन्देही जिल्लाको एक प्रतिष्ठित खेलकुद प्रतियोगिता २३औं तिलोत्तमा गोल्ड कप यही चैत्र ९ गते शनिवारदेखि सुरु हुँदैछ। रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुने यो प्रतियोगिता बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको मैदानमा आयोजना हुनेछ।
प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। मैदान सम्याउने काम सम्पन्न भइसकेको छ भने दर्शक दीर्घा (प्याराफिट) को सुधार, रंगरोगन, साथै सम्पूर्ण मैदान क्षेत्रलाई आकर्षक बनाउनुपर्ने काम समेत जारी रहेको संघका सचिव शंकर मल्लाहले जानकारी दिएका छन्।
यस वर्ष प्रतियोगितामा ८ टोली सहभागी हुने निश्चित भएको छ। सहभागी टिमहरूमा आयोजक रुपन्देही–११, चर्च ब्वाइज युनाइटेड, नेपाल सशस्त्र प्रहरी क्लब (एपीएफ), संकटा एफसी, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, साथै भारतबाट जर्जियन एफसी र एडोर्न गडवाल स्पोर्टिङ क्लब रहेका छन्।
प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक रुपन्देही–११, एपीएफ क्लब, संकटा एफसी र जर्जियन एफसी (भारत) परेका छन्। समूह ‘बी’ मा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लब (भारत) रहेका छन्।
उद्घाटन खेलमा आयोजक रुपन्देही–११ र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै चैत्र १० गते चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब, चैत्र ११ गते संकटा एफसी र जर्जियन एफसी, र चैत्र १२ गते मच्छिन्द्र एफसी र एडोर्न गडवाल स्पोर्टिङ क्लब आमनेसामने हुनेछन्। प्रतियोगिताको फाइनल चैत्र १६ गते हुने कार्यक्रम रहेको छ।
प्रतियोगिताको मुख्य प्रायोजन यशोदा फुड्स प्रा.लि. र त्रिमूर्ति इण्डष्ट्रिज प्रा.लि. ले गरेका छन्। विजेता टिमले उपाधिसहित नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ जित्नेछ। यसका साथै, विधागत उत्कृष्ट खेलाडीहरूले जनही ३१ हजार रुपैयाँ र ट्रफी, सर्वश्रेष्ठ खेलाडीलाई मोटरसाइकल वा स्कुटर, र म्यान अफ द म्याच खेलाडीलाई ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
संघका अध्यक्ष लोक पुनका अनुसार, गत वर्षको २२औं संस्करणमा मनाङ मस्र्याङ्दी क्लब, काठमाडौंले उपाधि जितेको थियो।










