गृहपृष्ठ कीर्तिपुर क्रिकेट रंगशाला अब राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना
कीर्तिपुर क्रिकेट रंगशाला अब राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना
माघ ८, २०८२
८ माघ – सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरेको छ। साहरी विकास मन्त्रालयले यस निर्णयको जानकारी दिँदै रंगशालालाई आधुनिक रूपान्तरण गर्ने ठूलो योजना अगाडि बढाइएको बताएको छ।
वर्तमान सरकारले असोज महिनाको अन्तिम साता त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गरेको थियो। यस क्रममा नयाँ सम्झौता गर्न र आवश्यक तयारी अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ। मन्त्रिपरिषद्को बैठकले गुरुयोजनाअनुसार आवश्यक जग्गा प्राप्त गर्न र निर्माण प्रक्रिया अघि बढाउन त्रिवि, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् लगायत सम्बन्धित निकायलाई कानुन अनुसार काम गर्न निर्देशन दिएको थियो।
सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजना अनुसार रंगशालामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना छ। यस लगानीले रंगशालाको संरचना, क्षमता र सुविधा अत्याधुनिक स्तरमा पु¥याउने अपेक्षा गरिएको छ। आगामी योजनामा रंगशालामा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गर्न योग्य बनाउने पहल पनि समावेश गरिएको छ।
यो कदम नेपालको खेलकुद विकासमा महत्वपूर्ण पाइला मानिएको छ, जसले क्रिकेट खेलको स्तर उकास्न, स्थानीय खेलाडीलाई अवसर दिन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पूर्वाधार तयार पार्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।















