गृहपृष्ठ एनपीएलमा विराटनगर किंग्सको लगातार तेस्रो जीत, सन्दीपको घातक बलिङ

एनपीएलमा विराटनगर किंग्सको लगातार तेस्रो जीत, सन्दीपको घातक बलिङ


मंसिर ८, २०८२

काठमाडौँ — कप्तान सन्दीप लामिछानेले कमालको बलिङ प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो जित दर्ता गरेको छ। कीर्तिपुरमा सोमबार भएको खेलमा विराटनगरले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्यो।

१३६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रनमा रोकियो। कप्तान सन्दीपले ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिनु नै विराटनगरको जितको आधार बन्यो। सूर्य तामाङले २ विकेट लिए भने मर्च्येन्ट डी ल्याङ्गे र शुभम् रन्जनेले १–१ विकेट हात पारे।

जनकपुरका लागि लफ्टी इटनले ३० बलमा ४१ रन बनाए पनि अन्य खेलाडीले साथ नदिँदा टोलीले दोस्रो लगातार हार व्यहोर्नु पर्‍यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १३५–७ को स्कोर बनाएको थियो। शुभम् रन्जनेले ३७ र बसिरले ३ छक्कासहित ३६ रन जोडे। लोकेश बमले २६ रन योगदान दिए।

गत वर्ष उद्घाटन खेलमै विराटनगरलाई सहजै हराएको जनकपुर यो सिजन कमजोर देखिँदै आएको छ। स्टार अलराउन्डर जिम्मी निसम नखेलेपछि च्याम्पियन टोलीको सन्तुलन प्रभावित भएको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु