गृहपृष्ठ नेदरल्यान्ड्ससँग २ रनले पराजित हुँदै नेपाल लगातार दोस्रो खेलमा हार
नेदरल्यान्ड्ससँग २ रनले पराजित हुँदै नेपाल लगातार दोस्रो खेलमा हार
माघ ८, २०८२
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेदरल्यान्ड्ससँग नेपाल २ रनले हार व्यहोर्न बाध्य भयो।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा कप्तान रुबिना क्षेत्री र सीता राना मगरले १० रन मात्र जोड्न सके।
२४ बलमा ४८ रन आवश्यक भएको अवस्थामा रुबिना र सीताले साझेदारी गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए। रुबिना क्षेत्री ३७ रन र सीता राना मगर २७ रनमा अविजित रहे। बिन्दु रावलले १८ रनको योगदान दिइन्।
नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् भने सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो। कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् भने स्टेर कालिसले ३० रन जोडिन्। रोबिन रिकेले १९ रन बनाउँदा आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्।
नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट हात पारिन्।
नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। जितसँगै नेदरल्यान्ड्स सुपर सिक्स चरणमा प्रवेश गरेको छ।















