गृहपृष्ठ महिला टी–२० ग्लोबल छनोटः स्कटल्यान्डसँग हार बेहोर्दै नेपाल बाहिर

महिला टी–२० ग्लोबल छनोटः स्कटल्यान्डसँग हार बेहोर्दै नेपाल बाहिर


माघ १२, २०८२

काठमाडौं, नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ।सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो हार बेहोरेपछि नेपाल सुपर सिक्समा पुग्न असफल भएको हो।

१४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै ६८ रनमा ९ विकेट गुमाउँदै अलआउट भयो। कप्तान इन्दु बर्मा चोटका कारण बीचमै मैदान छाड्न बाध्य भइन्। सातौं ओभरको चौथो बलमा चोटग्रस्त भएपछि उनी पुनः मैदानमा फर्कन सकिनन्।

नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन जोडिन्। स्कटल्यान्डका अब्ताहा मकसुदले ३ विकेट लिँदा कप्तान क्याथरिन ब्राइस र क्याथरिन फ्रेजरले २–२ विकेट लिए। ओलिभिया बेल र रचेल स्लेटरले १–१ विकेट हात पारिन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमा सीमित भएको थियो। नेपालले पावरप्लेमै ३ विकेट लिएर उत्कृष्ट सुरुवात गरे पनि अन्तिम ओभरहरूमा फिनिसिङ गर्न नसक्दा स्कटल्यान्डले प्रतिस्पर्धात्मक स्कोर बनायो।

स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रन बनाइन्। अलिसा लिस्टरले २२, सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन्।

नेपालका मनीषा उपाध्यायले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन् भने रुबिना क्षेत्रीले ३ विकेट हात पारिन्। सीता राना मगर, रिया शर्मा र कविता जोशीले १–१ विकेट लिए।

नेपालले समूह चरणमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग हार बेहोर्दा जिम्बाबेलाई भने पराजित गरेको थियो। एक जितसहित नेपाल २ अंकमै सीमित रह्यो।

यससँगै सुपर सिक्समा पुग्ने सबै ६ टोलीको टुंगो लागेको छ। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन्। समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका सुपर सिक्समा पुगेका हुन्।

सुपर सिक्सबाट शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्याण्डमा हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु