गृहपृष्ठ रास्वपा रुपन्देहीको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते मणिग्राममा
रास्वपा रुपन्देहीको प्रथम जिल्ला अधिवेशन जेठ २४ गते मणिग्राममा
जेठ २२, २०८३
कल्पना घिमिरे
बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशन आगामी जेठ २४ गते मणिग्राममा हुने भएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण तथा नयाँ नेतृत्व चयनका लागि अधिवेशन आयोजना गरिएको हो।
रास्वपा रुपन्देहीका जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार अधिवेशनले जिल्ला समितिमा नयाँ नेतृत्व चयन गर्नुका साथै निर्वाचन क्षेत्र समितिहरूको अधिवेशन समेत सम्पन्न गर्नेछ। अधिवेशनलाई पार्टीको संस्थागत विकास र संगठन विस्तारका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा हेरिएको उनले बताए।
रुपन्देहीलाई रास्वपाको बलियो संगठनात्मक आधार क्षेत्रका रूपमा लिइन्छ। जिल्लाका सबै पालिकामा पार्टी समितिहरू गठन भइसकेका छन् भने अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ। बाँकी वडाहरूमा तदर्थ समिति गठन गरी संगठन विस्तारको काम अगाडि बढाइएको पार्टीले जनाएको छ।
पार्टीले संगठन विस्तारसँगै जनकेन्द्रित अभियान, विभिन्न कार्यक्रम तथा समसामयिक विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताइएको छ। छोटो समयमै संगठन विस्तार र बढ्दो जनविश्वासका कारण कार्यकर्तामा उत्साह थपिएको जिल्ला नेतृत्वको भनाइ छ।
गत आम निर्वाचनमा रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा उल्लेखनीय मत प्राप्त गरेको रास्वपाले जिल्लाबाट समानुपातिकतर्फ पाँच जना सांसद निर्वाचित गराउन सफल भएको थियो। पार्टीका अनुसार यही उपलब्धि, संगठनको विस्तार र जनसहभागिताले रुपन्देहीमा रास्वपालाई स्थापित राजनीतिक शक्तिका रूपमा उभ्याउन मद्दत पुगेको छ।
रास्वपाले जेठ महिनाभित्र वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका अनुसार देशभर संगठनात्मक गतिविधि तीव्र बनाएको छ। रुपन्देहीको प्रथम जिल्ला अधिवेशनलाई सोही अभियानको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।











