गृहपृष्ठ रास्वपाले शपथपछि मात्रै प्रधानमन्त्री चयन गर्ने, सरकार गठन प्रक्रिया केही दिन पछाडि

रास्वपाले शपथपछि मात्रै प्रधानमन्त्री चयन गर्ने, सरकार गठन प्रक्रिया केही दिन पछाडि


 

चैत्र ४, २०८२

बुटवल टाइम्स

काठमाडौं — निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन रामचन्द्र पौडेलसमक्ष बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया कानुनी रूपमा अघि बढ्न सक्ने भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने यसपटक फरक रणनीति अपनाएको छ। पार्टीले सांसदहरूको शपथपछि मात्रै सरकार गठन प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो।

पूर्ववत् अभ्यासअनुसार शपथअघि नै सरकार गठन सम्भव रहे पनि रास्वपाको निर्णयका कारण नयाँ सरकार गठन केही दिन पछाडि धकेलिने देखिएको छ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठनको तयारी भइरहेको छ, तर औपचारिक प्रक्रिया भने सुरु भइसकेको छैन। यसअघि १० चैतभित्र सरकार बन्ने अनुमान गरिए पनि अब कम्तीमा १३ चैतअघि प्रधानमन्त्री नियुक्ति नहुने लगभग निश्चित भएको छ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार १२ चैतमा सांसदहरूको शपथ गराउने गरी छलफल भइरहेको छ। त्यसअघि निर्वाचन आयोगले ५ चैतमा समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरी अन्तिम मतपरिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ।

कानुनी प्रावधानअनुसार उक्त प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नेछन्। यद्यपि, संविधानले प्रधानमन्त्री नियुक्तिका लागि सांसदको शपथ अनिवार्य गरेको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शपथपछि संसदीय दलको बैठक बस्ने, त्यसपछि दलको नेता चयन हुने र सोही आधारमा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाइनेछ।

यदि १२ चैतमा शपथ सम्पन्न भयो भने १३ चैतमा संसदीय दलको नेता चयन गरी राष्ट्रपतिलाई जानकारी गराइनेछ। त्यसपछि १४ चैतसम्म प्रधानमन्त्री नियुक्ति हुन सक्ने र १५ चैतभित्र देशले नयाँ सरकार पाउने अनुमान गरिएको छ।

रास्वपाका प्रवक्ता मनीष झालेले पनि सरकार गठनमा केही समय लाग्ने संकेत दिएका छन्। उनका अनुसार कम्तीमा एक सातादेखि दश दिनभित्र मात्र प्रक्रिया टुंगोमा पुग्न सक्छ।

संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ भने धारा ८८ ले सांसदहरूले सदनको बैठकमा सहभागी हुनुअघि शपथ लिनुपर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु