गृहपृष्ठ जेठ ३० मा रास्वपा लुम्बिनी अधिवेशन, ८ नेताबीच नेतृत्व दौड
जेठ ३० मा रास्वपा लुम्बिनी अधिवेशन, ८ नेताबीच नेतृत्व दौड
जेठ २८, 2०८३
कल्पना घिमिरे
रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशन नजिकिँदै जाँदा प्रदेश नेतृत्वका लागि आकांक्षी नेताहरूको दौडधुप तीव्र बनेको छ। जेठ ३० गते दाङमा हुने प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने तयारी भइरहेको छ।
पार्टीका अनुसार प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ भने अब प्रदेश अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ। अधिकांश जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन भएकाले प्रदेश नेतृत्वका लागि पनि प्रतिस्पर्धा हुने संकेत देखिएको छ।
प्रदेश नेतृत्वका लागि हालसम्म देवराज पाठक, शालिकराम घिमिरे, गोपाल घिमिरे, मधु अर्याल, गणेश पौडेल, मञ्जु ज्ञवाली, डा. राजकुमार सुवेदी तथा निलराज अधिकारी मुख्य आकांक्षीका रूपमा देखिएका छन्।
रास्वपाले लुम्बिनी प्रदेशमा आफ्नो संगठनलाई थप मजबुत बनाउने लक्ष्यसहित सक्षम र प्रभावकारी नेतृत्व चयन गर्ने तयारी गरेको जनाएको छ। अधिवेशनमा केन्द्रीय निर्वाचन समितिसहित केन्द्रीय प्रतिनिधिहरूको समेत सहभागिता रहने बताइएको छ।
यसअघि पाल्पा, पश्चिम नवलपरासी र रोल्पा मा सर्वसम्मत नेतृत्व चयन भएको थियो भने अन्य जिल्लामा मतदानमार्फत नयाँ नेतृत्व चयन गरिएको थियो। पूर्वी रुकुम मा भने केही संगठनात्मक प्रक्रिया बाँकी रहेकाले जिल्ला अधिवेशन पछि हुने जनाइएको छ।







