गृहपृष्ठ सरकारी अस्पतालमै उपचार गर्न रास्वपाका सांसदलाई रवि लामिछानेको आग्रह

सरकारी अस्पतालमै उपचार गर्न रास्वपाका सांसदलाई रवि लामिछानेको आग्रह


चैत्र ४, २०८२

बुटवल टाइम्स

काठमाडौं, ४ चैत — रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन आग्रह गरेका छन्।

ललितपुरको ग्वार्कोमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आकस्मिक अवस्थाबाहेक सरकारी स्वास्थ्य संस्थाबाटै सेवा लिन सुझाव दिए। ‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस्। सेवालाई चुस्त बनाउनुस्। म बाध्यकारी भन्दिनँ,’ उनले भने।

पार्टी स्थापना भएको चार वर्ष नपुग्दै विभिन्न पृष्ठभूमिका व्यक्तिहरू रास्वपामा जोडिएको उल्लेख गर्दै लामिछानेले जनताले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन आग्रह गरे।

‘रास्वपा स्थापना भएको चार वर्ष पनि भएको छैन। यसबीचमा विभिन्न पृष्ठभूमि भएका साथीहरू हुनुहुन्छ। हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला,’ उनले भने, ‘आफ्नो सरकार बहुमतमा रहन्छ, संख्या घट्ला भन्ने कुराको प्रवाह नगरी काममा लाग्नुस्।’

उनले सांसदहरूलाई जनताप्रति उत्तरदायी भएर काम गर्न र सेवा प्रवाह सुधारमा ध्यान दिन पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु