गृहपृष्ठ पीडितको आक्रोश स्वाभाविक हो, प्रतिकार नगर्नुस् : सभापति रवि लामिछाने
पीडितको आक्रोश स्वाभाविक हो, प्रतिकार नगर्नुस् : सभापति रवि लामिछाने
भाद्र २४, २०८३
बुटवल टाइम्स
काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट पीडित नागरिकले सरकारप्रति आक्रोश व्यक्त गरेकै आधारमा सामाजिक सञ्जालमार्फत होच्याउने तथा अपमान गर्ने व्यक्तिमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै लामिछानेले विपद्का कारण गहिरो पीडामा रहेका नागरिकले राज्यसँग प्रश्न गर्न र आक्रोश पोख्न पाउने बताएका हुन्। पीडितले आक्रोश व्यक्त गर्दा सरकार वा रास्वपाका समर्थकले सामाजिक सञ्जाललगायत कुनै पनि माध्यमबाट प्रतिकार गर्न नहुने उनको भनाइ छ।

उनले गम्भीर पीडामा रहेका नागरिकले भगवानलाई समेत प्रश्न गर्ने भन्दै सरकार र राजनीतिक दलमाथि आक्रोश व्यक्त गर्नु स्वाभाविक भएको बताए।
‘जब मानिस गहिरो चोटमा पर्छ, जब उसले अप्रत्याशित शोक भोग्छ, उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ? रास्वपा के हो ?’ लामिछानेले प्रश्न गरे।
उनले विपद्को समयलाई राजनीतिक आरोप–प्रत्यारोप र एकअर्कालाई कमजोर बनाउने अवसरका रूपमा प्रयोग गर्न नहुनेमा जोड दिए।
लामिछानेले भने, ‘यस्तो कहालीलाग्दो विपद् र विध्वंसपछि हामीकहाँ एउटा रोग देखिन्छ—विपद्लाई अवसर बनाएर एकापसमा आरोप–प्रत्यारोपको खेल खेल्ने र कसलाई कसरी तल खसाल्ने भनेर रमाउने। राजनीतिको रोटी सेक्ने समय यो हुँदै होइन।’
उनका अनुसार भोटेकोशी बाढीबाट हजारौँ परिवार प्रभावित भएका छन्। उनीहरूले घरबार, जायजेथा, बस्ती, छिमेक, खेतबारी तथा जीवनभरको कमाइ गुमाउनुका साथै आफ्ना परिवारका सदस्यसमेत गुमाएका छन्।
‘ती नागरिकको छातीमा परेको चोट र भत्किएको मनको गहिराइ हामी यहाँ सुरक्षित कुर्सीमा बसेर, यो कोठाभित्र सायदै नाप्न सकौँला,’ उनले भने।

















