गृहपृष्ठ संकटको समयमा सुरक्षाकर्मीले पुर्याएको योगदानप्रति सधैं कृतज्ञ रहनेछौं : प्रधानमन्त्री बालेन
संकटको समयमा सुरक्षाकर्मीले पुर्याएको योगदानप्रति सधैं कृतज्ञ रहनेछौं : प्रधानमन्त्री बालेन
Oplus_16908288
भदौ २१,२०८३
बुटवल टाइम्स
काठमाडौ – प्रधानमन्त्री बालेन शाहले विपद्का समयमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीको त्याग, निष्ठा र अदम्य साहसको उच्च प्रशंसा गरेका छन्। संकटको समयमा आफ्नो ज्यानको जोखिम मोलेर नागरिकको उद्धार तथा सुरक्षामा खटिने सुरक्षाकर्मीका कारण लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको उनले बताए।
विपद् प्रभावित तथा जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको जानकारी दिँदै प्रधानमन्त्री शाहले तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको बताए। त्यस्तै, सशस्त्र प्रहरीले विशेष तालिमप्राप्त गोताखोर, डोरी उद्धार टोली, ड्रोन तथा केनाइन टोली परिचालन गरी जोखिमपूर्ण क्षेत्रमा खोज तथा उद्धार गरिरहेको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले विपद्को समयमा सुरक्षाकर्मीले देखाएको सक्रियता र जिम्मेवारी निर्वाह प्रशंसनीय रहेको उल्लेख गर्दै उनीहरूको योगदानलाई सरकारले उच्च सम्मान गर्ने बताए। कार्यक्षेत्रमा खटिने प्रत्येक सुरक्षाकर्मीको सेवा, सुरक्षा तथा सुविधाका विषयमा सरकार संवेदनशील रहेको भन्दै उनले उनीहरूको सेवा–सुविधामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।
संकटको समयमा सुरक्षाकर्मीलाई आफ्नो कर्तव्यमा खटिन प्रेरित गर्ने उनीहरूका परिवारको भूमिकाको पनि प्रधानमन्त्री शाहले प्रशंसा गरे। सुरक्षाकर्मीहरू लामो समयसम्म परिवारबाट टाढा रहेर जोखिमपूर्ण अवस्थामा नागरिकको उद्धार तथा सुरक्षामा खटिनुपर्ने भएकाले उनीहरूका परिवारको योगदान पनि महत्वपूर्ण रहेको उनले बताए।
संकट व्यवस्थापनमा सुरक्षाकर्मीसँगै खटिएका स्वदेश तथा विदेशका विज्ञ, प्राविधिक तथा उद्धारमा सहयोग गर्ने सबैप्रति प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गरे। उनले विपद्को कठिन परिस्थितिमा नागरिकको जीवनरक्षा र उद्धारमा खटिएका सबै राष्ट्रसेवकप्रति सरकार र देश सधैं कृतज्ञ रहने बताए।
















