गृहपृष्ठ निर्वाचनअघि कांग्रेस एकताबद्ध भएर अघि बढ्छ : संस्थापन पक्षधर नेता
निर्वाचनअघि कांग्रेस एकताबद्ध भएर अघि बढ्छ : संस्थापन पक्षधर नेता
पुस २५, २०८२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर नेताहरूले पार्टी एकताबद्ध भएर आमनिर्वाचनमा जाने बताएका छन्। काठमाडौंमा भेला भएका नेताहरूले निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशन गर्ने समय नभएको स्पष्ट पारेका छन्।
कांग्रेस नेता शिव हुमागाईंले आमनिर्वाचन नजिकिएकाले आन्तरिक समस्या समाधान गरेर अघि बढ्नु नै बुद्धिमानी हुने बताए। कांग्रेसभित्र देखिएका समस्या समाधानका लागि छलफल भइरहेको र पुस २६ गतेसम्म निकास निकालिने उनले जानकारी दिए।
उनका अनुसार प्रक्रियागत रूपमा सबैसँग छलफल गरेर नयाँ रणनीतिसहित कांग्रेस अघि बढ्नेछ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माप्रति आफूहरूको कुनै असन्तुष्टि नरहेको उल्लेख गर्दै उनले महामन्त्री पदले सबैलाई विश्वासमा लिएर अघि बढ्ने भूमिका खेल्नुपर्ने बताए।
नेपाली राजनीतिमा प्रायः निर्णय अन्तिम समयमा टुंगिने गरेको टिप्पणी गर्दै हुमागाईंले निर्वाचनको मुखमा कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन जरुरी रहेकोमा जोड दिए।
त्यस्तै नेता मदनकृष्ण श्रेष्ठले पनि निर्वाचनअघि महाधिवेशन गर्न सक्ने अवस्था नरहेको बताए। दुई महिना ढिलाइ हुँदैमा आपत्ति जनाउनुपर्ने कारण नरहेको उल्लेख गर्दै उनले कांग्रेस कुनै पनि हालतमा नफुट्ने र एकताबद्ध भएर चुनावमा जाने दाबी गरे।
उनले पार्टी विधानअनुसार एक वर्ष समय थप गर्न सकिने व्यवस्था रहेकाले वैशाखमा नियमित महाधिवेशन गर्नुलाई अवैधानिक भन्न नमिल्ने तर्क गरे। क्रियाशील सदस्यताको काम समयमै सकिएको भए पुसभित्रै महाधिवेशन सम्पन्न गर्न सकिने अवस्था रहेको पनि नेताहरूले बताएका छन्।










