गृहपृष्ठ सिमसिम वर्षाले दाउन्ने सडक अवरुद्ध, यात्रु र सवारी घण्टौँ अलपत्र
सिमसिम वर्षाले दाउन्ने सडक अवरुद्ध, यात्रु र सवारी घण्टौँ अलपत्र
बर्दघाट, २१ वैशाख — लगातार परेको सिमसिमे वर्षाका कारण बुटवल–नारायणघाट अन्तर्गतको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ। विशेषगरी बर्दघाट–दुम्किबास खण्डको घिउखोला क्षेत्रको सडक चिप्लो बनेपछि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको हो।
इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार आइतबार बिहानैदेखि परेको वर्षासँगै सवारी साधनहरू सञ्चालनमा आउन नसकेको हो। सडक निर्माण कार्य अन्तर्गत राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइए पनि, विहान वर्षा जारी रहेकाले सवारी पुनः सञ्चालन असम्भव बनेको छ।
सडकको माथिल्लो माटोको तह हटाइएपछि जमिन अझै चिप्लो बनेको छ। दुम्किबासबाट दाउन्नेतर्फ जाने सवारी साधनहरू उकालो चढ्न नसकेका कारण दुम्किबास–ज्यामिरे खण्डमा रोकिएका छन्। त्यस्तै, बर्दघाटबाट जाने सवारीहरू ओरालो चिप्लिने जोखिमका कारण रोकिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।
दाउन्ने सडक खण्डमा सामान्य वर्षाका बेलामा समेत सवारी आवागमनमा समस्या देखिँदै आएको छ। यात्रुवाहक तथा मालवाहक सवारी साधनहरूले घण्टौं लामो जाम सहनुपर्ने अवस्था पुनः दोहोरिएको हो।










