गृहपृष्ठ विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा: ‘शिक्षक महासंघले धोका दियो’
विद्यालय कर्मचारी परिषदको आन्दोलन घोषणा: ‘शिक्षक महासंघले धोका दियो’
१९ बैशाख २०८२, शुक्रबार
काठमाडौं । शिक्षक आन्दोलनमा काध मिलाएर सँगै उभिएका विद्यालय कर्मचारीहरूलाई नेपाल शिक्षक महासंघले उपेक्षा गरेको आरोप लगाउँदै नेपाल विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको घोषणा गरेको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै परिषदले विभिन्न चरणका आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। परिषदको आन्दोलन परिचालन समितिको संयोजकका रूपमा बब्बन मिश्रलाई चयन गरिएको छ।
परिषदका अध्यक्ष गंगाराम तिवारीले शिक्षक महासंघले रहस्यमय शैलीमा सरकारसँग सम्झौता गर्दा विद्यालय कर्मचारी, राहत शिक्षक, बाल विकास सहजकर्ता लगायतका कोटाका कर्मचारी शिक्षकहरूलाई बेवास्ता गरिएको आरोप लगाए। उनका अनुसार, महासंघले केवल स्थायी शिक्षकका हितमा मात्र सम्झौता गरेर बाँकी कर्मचारी वर्गलाई अलपत्र पारिदिएको छ।
कालोपट्टी बाँधेर परीक्षा सञ्चालन
तिवारीले अबको आन्दोलन शिक्षक महासंघविरुद्ध केन्द्रित हुने बताए। परिषदले घोषणा गरेको पहिलो चरणको आन्दोलन अन्तर्गत वैशाख २१ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा कर्मचारीहरूले कालोपट्टी बाँधेर परीक्षा सञ्चालन गर्ने जनाइएको छ।
परिषदले अबको आन्दोलनको मुख्य माग शिक्षक र विद्यालय कर्मचारीबीच देखिएको विभेद अन्त्य गर्नुपर्ने रहेको स्पष्ट पारेको छ। “शिक्षा क्षेत्रको विकास समग्र सहभागितामा मात्र सम्भव हुन्छ,” परिषदका वक्ताहरूले भने, “तर शिक्षक र कर्मचारीबीच वर्गीय भेदभावलाई कायम राख्ने सम्झौता हामीलाई स्वीकार्य छैन।”
शिक्षक महासंघ र सरकारले गरेका ९ बुँदे सहमतिमा विद्यालय कर्मचारीको विषय समेटिएको भए पनि, व्यवहारिक कार्यान्वयनको पक्ष स्पष्ट नभएको भन्दै कर्मचारी पक्ष आक्रोशित देखिएको छ।

















