गृहपृष्ठ रास्वपामा नयाँ युग: लामिछानेले कार्यकर्ता र जनता माझ भरोसा जगाए

रास्वपामा नयाँ युग: लामिछानेले कार्यकर्ता र जनता माझ भरोसा जगाए


चैत्र ४, २०८२

काठमाडौं रवि लामिछाने ले आम निर्वाचनपछि आफ्नो राजनीतिक शैलीमा परिवर्तनको संकेत दिएका छन्। यसअघि आक्रामक अभिव्यक्ति दिने उनी अहिले संयमित र जिम्मेवार देखिएका छन्।

ग्वार्कोमा आयोजित पार्टीको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै लामिछानेले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रलाई आफ्नो पार्टीप्रति भरोसा गर्न आग्रह गरे। उनले निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय तथा लगानीकर्तालाई समेत विश्वास दिलाउने प्रयास गरे।

उनले पार्टीका कार्यकर्ता र समर्थकलाई सामाजिक सञ्जालमा देखिने आक्रामकता र उत्तेजना त्याग्न निर्देशन दिए। विपक्षीप्रति तुच्छ टिप्पणी नगर्न आग्रह गर्दै उनले संयमित व्यवहार गर्न जोड दिए।

पार्टीका सांसदहरूलाई ‘शासक होइन, सेवक’ बन्न निर्देशन दिँदै उनले सादगी अपनाउन सुझाव दिए। सरकारी अस्पतालमै उपचार गराउन आग्रह गर्दै उनले जनतासँग नजिक भएर काम गर्नुपर्ने बताए।

लामिछानेले विगतका राजनीतिक दलहरूको योगदानको प्रशंसा गर्दै अबको जिम्मेवारी आफ्नो पार्टीले वहन गर्ने सन्देश दिए। साथै, मन्त्री बन्ने दौडमा नलाग्न र स्वार्थ समूहबाट सचेत रहन सांसदहरूलाई आग्रह गरे।

उनले “राइट टु रिकल” व्यवस्था कडाइका साथ लागू गर्ने उल्लेख गर्दै अनुशासनमा रहन चेतावनी दिए। जनताको अपेक्षा उच्च रहेकाले परिणाममुखी काम गर्नुपर्नेमा उनले जोड दिए।

यसैबीच, बालेन शाह कार्यक्रममै अनुपस्थित रहेपछि चासो व्यक्त गरिएको छ। पार्टीले उनी स्वास्थ्यलाभ गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु