गृहपृष्ठ तिलोत्तमामा सडक विकासको फरक दृष्टिकोण: ‘१ वडा १ नमुना सडक
तिलोत्तमामा सडक विकासको फरक दृष्टिकोण: ‘१ वडा १ नमुना सडक
’
कल्पना घिमिरे
तिलोत्तमा, असार १९
तिलोत्तमा नगरपालिकाले समग्र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘एक वडा, एक किमी नमुना सडक’ निर्माणको अभियान तीव्र गतिमा अघि बढाएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को बजेट अन्तर्गत नगरपालिकाले प्रतिवडा एक करोड रुपैयाँ बराबरको लागतमा कालोपत्रे सडक निर्माण गरिरहेको हो।
यो योजनाअनुसार नगर क्षेत्रभित्रका सबै १७ वटा वडामा सडक निर्माणको कार्य अघि बढाइएको छ। नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख इञ्जिनियर प्रदीप वनका अनुसार वडा नम्बर १, ५, ६, ८, ९, ११, १४, १५ र १६ मा निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइसकेको छ। बाँकी वडाहरूमा काम अन्तिम चरणमा पुगेको जनाइएको छ
डुबान क्षेत्रलाई विशेष प्राथमिकता
वडा नम्बर २ मा निर्माण गरिएको नमुना सडक नगरको ‘दक्षिणी डुबान क्षेत्र’सँग जोडिएको छ। यस सडकको लम्बाइ ३१० मिटर र चौडाइ २० देखि २२ फिटसम्म रहेको छ। साथै, नालीसहितको ७५ मिटर सडकको चौडाइ १६ फिट रहेको छ। दुबै छेउमा नाली र बीचमा कल्भर्ट राखेर निर्माण गरिएको यो सडक स्थानीयका लागि दीर्घकालीन राहत हुने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष डिलबहादुर भट्टराईका अनुसार, “वर्षायाममा पानी घर–घरमा पस्ने समस्या समाधान गर्न यो सडकको स्तरवृद्धि गरिएको हो। दक्षिणी भाग होचो भएकाले पानी थुनिन्थ्यो। अहिले त्यो समस्या समाधान हुने गरी नाली र कल्भर्टसहित सडक बनाइएको छ।”निर्माण कार्यको गुणस्तर र प्रगति हेर्न नगरपालिकाले नियमित अनुगमन गरिरहेको छ। वडा स्तरमा गठन गरिएको सहजीकरण समितिले पनि निरन्तर निगरानी गरिरहेको छ। सहजीकरण समितिका अध्यक्ष रोमलाल खरेलका अनुसार, “निर्माण कार्यमा कुनै गुनासो आएको छैन। प्राविधिक टोली बेला–बेला साइटमा आउँछन्। हामीले बाँकी काम चाँडै सम्पन्न गर्न आग्रह गरेका छौं।”
सडक बनेपछि स्थानीयवासीले सहजता महसुस गरिरहेका छन्। स्थानीय नारायण गौतम भन्छन्, “पहिले वर्षा लागेपछि घरभित्रै पानी पस्थ्यो। अहिले नाली बनेको छ, बाटो राम्रो बनेको छ। निकै राहत महसुस भएको छ।”
त्यस्तै, अर्की स्थानीयवासी मिना घिमिरेले हिलोको झन्झटबाट मुक्ति पाएको अनुभव सुनाइन्। “बिहान उठ्नेबित्तिकै हिलोमा हिँड्नु पर्ने बाध्यता थियो। अहिले राम्रो सडक बनेको छ, अब नानीहरू पनि स्कुल जान सजिलो भएको छ,” उनले भनिन्।
नगरपालिकाका सब–इञ्जिनियर ज्ञान प्रसाद उपाध्यायले सडक निर्माण कार्य तोकिएको म्याद अर्थात् जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भए पनि केही ढिलाइ भएको बताए। “हाल ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ। कालोपत्रे भाग सूख्न बाँकी छ, त्यसपछि रोड मार्किङ र नाली सफा गर्ने काम बाँकी छ,” उनले भने।
सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी सुमन वस्यालका अनुसार मौसमले साथ दिएमा सबै बाँकी काम एक साताभित्र सकिनेछ। “९९ प्रतिशत काम सम्पन्न भइसकेको छ। केही ठाउँमा नाली सफा गर्न बाँकी छ र सडक मार्किङको काम भइरहेको छ,” उनले भने।
नगरपालिकाका सव इन्जिनियर ज्ञान प्रसाद उपाध्यका अनुसार वडा नम्बर ७, १० र १३ मा कालोपत्रे सकिए पनि ओभरलेपको काम बाँकी छ। “प्रभेयर मेसिनबाट मिक्स गरिएको अलकत्रा र गिट्टी प्रयोग गरेर बाटो कालोपत्रे गर्न प्रयोग हुने मेसिन एकमात्रै भएकाले केही ढिलाइ भएको हो,” उपाध्यायले
तिलोत्तमा नगरपालिका–१७ अन्तर्गत गंगोलिया–डमरमरुवा सडकको स्तरउन्नतिको काम अन्तिम चरणमा पुगेको छ। नगरपालिकाका सब–इञ्जिनियर अर्जुन थापाका अनुसार, सम्पूर्ण निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ र हाल परीक्षणका केही औपचारिकता मात्र बाँकी छन्। “कालोपत्रेको काम सकिएको छ, ल्याब टेस्ट मात्र गर्न बाँकी छ। त्यो पनि हप्ता–दश दिनभित्र सम्पन्न हुन्छ,” उनले बताए।
समान मोडेल, दीर्घकालीन सोच
तिलोत्तमा नगरपालिकाले सबै वडामा समान मोडेलमा नमुना सडक निर्माण गर्दै समावेशी पूर्वाधार विकासको बाटो अघि बढाएको छ। नगरप्रमुखका अनुसार ‘एक वडा, एक किमी सडक’ अवधारणा नगरभित्रका सबै नागरिकलाई समान सुविधा दिने दीर्घकालीन सोचका साथ अघि सारिएको हो।
नगरपालिकाले सडक निर्माणको लागत जिल्ला दररेटअनुसार टेन्डरमार्फत निर्धारण गरेको छ। निर्माण सम्पन्न भएपछि एक वर्षको परीक्षण अवधि पनि राखिएको छ। यो अवधिमा कुनै समस्या आएमा निर्माण कम्पनीले निःशुल्क मर्मत गर्नुपर्ने प्रावधान छ।
पूर्वाधारबाट समृद्धिको बाटो
तिलोत्तमा नगरपालिकाले अपनाएको यो मोडेलले न केवल फिजिकल पूर्वाधारमा सुधार ल्याइरहेको छ, स्थानीय शासन प्रणालीमा पनि पारदर्शिता र सहभागिता बढाएको छ। प्राविधिक टोलीको नियमित अनुगमन, सहजीकरण समितिको सक्रियता र स्थानीयवासीको सन्तुष्टिले यो योजनालाई ‘समुचित कार्यान्वयनको उदाहरण’का रूपमा स्थापित गराएको छ।
नगर प्रमुख रामकृष्ण खाँडका अनुसार, “नगरका सबै वडामा एकरूपता ल्याउँदै जनताको जीवनस्तर सुधार्ने हाम्रो लक्ष्य हो। यो अभियान नगरको पूर्वाधार विकासको मेरुदण्ड बन्नेछ।















