गृहपृष्ठ पूर्वमन्त्री बद्री न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा: सर्वोच्चमा आज पहिलो सुनुवाइ
पूर्वमन्त्री बद्री न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा: सर्वोच्चमा आज पहिलो सुनुवाइ
काठमाडौँ, असार २० – पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार पहिलो पटक सुनुवाइ हुन लागेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।
न्यौपानेलाई विशेष अदालतले दोषी ठहर गर्दै नौ वर्ष कैद सजाय, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको बिगो असुल गर्ने फैसला सुनाएको थियो। उक्त मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको हो।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीका रूपमा कार्यरत रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित ‘फन पार्क’ सञ्चालन गर्न सस्तो दरमा भाडा दिएको र यसै माध्यमबाट राज्यलाई क्षति पुर्याएको अख्तियारको आरोप थियो।
यस मुद्दामा नेपाली कांग्रेसका अर्का पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाजकल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी लगायतलाई समेत प्रतिवादी बनाइएको थियो।
विशेष अदालतको फैसला प्रति असन्तुष्टि जनाउँदै दुवै पक्ष सर्वोच्च अदालतमा पुनरावेदन लिएर गएका हुन्। सर्वोच्चले शुक्रबार पहिलोपटक यस मुद्दामा सुनुवाइ गर्दैछ।










