गृहपृष्ठ अमेरिका–भेनेजुएला तनावमा संयमता अपनाउन नेपालको आग्रह
अमेरिका–भेनेजुएला तनावमा संयमता अपनाउन नेपालको आग्रह
पुस २४, २०८२
काठमाडौं। नेपाल सरकारले अमेरिका–भेनेजुएलाबीच बढ्दो तनावप्रति चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न सबै पक्षलाई अपिल गरेको छ। विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान हुनुपर्नेमा नेपालले जोड दिएको छ।
अमेरिकी सेनाले भेनेजुएलाको राजधानीसहित विभिन्न शहरमा आक्रमण गरी राष्ट्रपति दम्पतीलाई नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि दुई देशबीच तनाव बढेको हो। यस घटनालाई लिएर अन्तर्राष्ट्रिय समुदायले चासो र चिन्ता व्यक्त गरिरहेका छन्।
नेपाल सरकारले सबै किसिमका विवाद संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गरिनुपर्ने स्पष्ट पारेको छ।










