गृहपृष्ठ ट्रम्पको आदेशपछि ६६ अन्तर्राष्ट्रिय संस्थानलाई अमेरिकाको सहयोग बन्द

ट्रम्पको आदेशपछि ६६ अन्तर्राष्ट्रिय संस्थानलाई अमेरिकाको सहयोग बन्द


पुस २४, २०८२

काठमाडौँ — दोस्रो कार्यकालका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएर आएपछि अमेरिका संयुक्त राष्ट्रसंघसम्बद्ध एजेन्सी र विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने भएको छ। संयुक्त राष्ट्रसंघ जनसंख्या एजेन्सी (यूएनएफपीए) र संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसी) सहित ६६ वटा अन्तर्राष्ट्रिय संस्था, एजेन्सी र आयोगलाई दिइने सहयोग र समर्थन बन्द गर्ने निर्णय अमेरिकाले गरेको हो।

राष्ट्रपति ट्रम्पले बुधबार ती संस्थाहरुलाई दिइँदै आएको सहयोग रोक्ने आदेशमा हस्ताक्षर गरेका हुन्। ह्वाइटहाउसका अनुसार संयुक्त राष्ट्रसंघ आबद्ध संस्था तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरुमा अमेरिकाले गर्ने लगानी र समर्थनको पुनरावलोकनपछि यस्तो निर्णय लिइएको हो।

सहयोग कटौती हुने संस्थाहरुमा राष्ट्रसंघसँग सम्बन्धित विभिन्न एजेन्सी, आयोग तथा जलवायु परिवर्तन, श्रम, आप्रवासनलगायत विषयका सल्लाहकार समितिहरु रहेका छन्। साथै एटलान्टिक सहकार्यका लागि साझेदारी, प्रजातन्त्र र मतदान सहयोगका लागि अन्तर्राष्ट्रिय इन्स्टिच्युट, वैश्विक आतंकवाद प्रतिरोधी मञ्चलगायत संस्थाहरु पनि सूचीमा परेका छन्।

यसअघि नै अमेरिका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सी (युएनआरडब्ल्युए), राष्ट्रसंघ मानव अधिकार नियोग र सांस्कृतिक एजेन्सी युनेस्कोलाई दिइने सहयोग बन्द गरिसकेको छ।

दोस्रो कार्यकाल सुरु भएयता राष्ट्रपति ट्रम्पले आफ्ना नीति र एजेन्डासँग मेल खाने संस्थालाई मात्रै सहयोग गर्ने स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु