गृहपृष्ठ सेल्मे फलाम खानी पुनः सञ्चालनको माग : भोजपुरका कालिगडको जीवन यापन संकटमा

सेल्मे फलाम खानी पुनः सञ्चालनको माग : भोजपुरका कालिगडको जीवन यापन संकटमा


भोजपुर, टेम्केमैयुङ — नेपाल खनिज पदार्थको दृष्टिले समृद्ध देश हो। देशका विभिन्न भूभागमा फलामसहित अन्य खनिज खानी रहेका छन्। तर तीमध्ये धेरैजसो खानी निष्क्रिय छन्, जसको असर स्थानीय उद्योग, रोजगार र अर्थतन्त्रमा स्पष्ट देखिन्छ। यस्तै नियतिमा परेको छ भोजपुरको ऐतिहासिक ‘सेल्मे फलाम खानी’।

करिब १५० वर्षको इतिहास बोकेको यो खानी वि.सं. २०१३ सम्म सञ्चालनमा थियो। त्यसपछि बन्द अवस्थामा रहँदै आएको यो खानी पुनः सञ्चालनका लागि स्थानीयवासीहरुले सरकारसँग आग्रह गरेका छन्। उनीहरुको भनाइमा खानी पुनः सञ्चालन भए रोजगारी सिर्जना हुने, परम्परागत कालिगड पेशाको संरक्षण हुने र स्थानीय आर्थिक विकासमा टेवा पुग्नेछ।

कालिगड पेशा संकटमा

दशकौँअघिसम्म यही खानीबाट निकालिएको फलाम प्रयोग गरेर स्थानीय कालिगडहरुले औजार, कृषि उपकरण तथा अन्य फलामका सामग्री निर्माण गर्थे। तर खानी बन्द भएपछि उनीहरुलाई बाह्य मुलुकबाट आयातित फलाममा निर्भर हुनुपर्ने बाध्यता छ। स्थानीय कालिगड मनकुमार विश्वकर्मा भन्छन्, “राज्यले सेल्मे फलाम खानीको सम्भावना अध्ययन गरेर पुनः उत्खनन सुरु गर्नुपर्छ। यहाँको फलाम गुणस्तरीय छ, यसले स्थानीय जीवनस्तर सुधार गर्न मद्दत गर्छ।”

उनको भनाइमा अहिले पनि खानी क्षेत्रमा फलाम उत्खनन गरिएका खाल्डा, धाउ र किट देख्न सकिन्छ। त्यहीँको फलामबाट सयौँ वर्षअघि बनाइएका औजारहरु अझै गाउँघरमा भेटिन्छन्।

परम्परा र पहिचानको स्रोत

सेल्मे क्षेत्रमा अझै करिब नौ परिवार कालिगड पेशामा संलग्न छन्। तीर्थकुमार विश्वकर्मा भन्छन्, “भोजपुर खुकुरी हाम्रो गौरव हो। यही खानीको फलाम प्रयोग गरेर खुकुरी उत्पादन गरेमा भोजपुरको पहिचान अन्तर्राष्ट्रिय स्तरमा फैलन सक्छ।” तर खानी बन्द हुँदा उनीहरु आयातित फलाम प्रयोग गर्न बाध्य छन्।

स्थानीय सरकारको पहल र सीमितता

टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गका अनुसार, सेल्मे, देवी खोला, छोक्लालगायतका क्षेत्रमा फलामको प्रशस्त भण्डार रहेको छ। “यो खानी पुनः सञ्चालन गरियो भने हजारौँलाई रोजगारी दिन सकिन्छ,” उनले भने, “तर वडास्तरबाट यस्ता आयोजना सञ्चालन सम्भव छैन, प्रदेश र संघीय सरकारको ध्यान आवश्यक छ।”

वडाध्यक्ष माङ्गपाहाङ्गका अनुसार, वडा कार्यालयले राज्यका सम्बन्धित निकायमा खानीको सम्भावना बारे जानकारी गराइसकेको छ। “सेल्मे फलाम खानी राष्ट्रिय सम्पत्तिका रूपमा लिने हो भने यसको प्रभाव स्थानीयभन्दा पनि राष्ट्रिय अर्थतन्त्रमा देखिनेछ,” उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु