गृहपृष्ठ कर्जा प्रवाह सुस्त ,बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता
कर्जा प्रवाह सुस्त ,बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता
२५ माघ २०८२
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह सुस्त बनेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा करिब ७६ खर्ब रुपैयाँ निक्षेप संकलन हुँदा ५६ खर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा कुल निक्षेप ७५ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरुको निक्षेप मात्र ६८ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा ७ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
तर, कर्जा प्रवाह भने अपेक्षित रुपमा बढ्न सकेको छैन । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कुल ५६ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कर्जा विस्तार सुस्त हुँदा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना भएको छ ।
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट नियमित रुपमा रकम प्रशोचन गर्दै आएको छ । कुल कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुले ५० खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाहरुले ६ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
कर्जा प्रवाह कमजोर रहँदा बैंकहरुको क्रेडिट–डिपोजिट (सीडी) रेसियो समेत घट्दै गएको छ । हाल बैंकहरुको औसत सीडी रेसियो ७४.१२ प्रतिशत मा झरेको छ । त्यस्तै, अन्तरबैंक ब्याजदर पनि घटेर २.७५ प्रतिशत मा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।
अर्थतन्त्रमा लगानीको माग कमजोर रहँदा बैंकिङ क्षेत्रमा कर्जा विस्तार चुनौतीपूर्ण बनेको विश्लेषकहरुको भनाइ रहेको छ ।















