गृहपृष्ठ सरकारले राष्ट्रिय प्रतिबद्धता मस्यौदामा दलहरूसँग सुझाव माग्यो
सरकारले राष्ट्रिय प्रतिबद्धता मस्यौदामा दलहरूसँग सुझाव माग्यो
वैशाख १, २०८३
काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ सम्बन्धी मस्यौदामा प्रमुख राजनीतिक दलहरूसँग विस्तृत सुझाव माग गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त गरेका राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा विभिन्न प्रतिबद्धताहरूलाई समेटेर उक्त मस्यौदा तयार गरिएको जनाएको छ। सरकारको लक्ष्य विभिन्न दलका एजेण्डालाई एकीकृत गर्दै साझा राष्ट्रिय मार्गचित्र निर्माण गर्नु रहेको छ।
मस्यौदामा देशको आर्थिक विकास, सुशासन, सामाजिक न्याय, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, साथै संघीय संरचनाको प्रभावकारी कार्यान्वयनजस्ता विषयहरू समेटिएका छन्। त्यसैगरी दीगो विकास, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा पनि विशेष जोड दिइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित राजनीतिक दलहरूलाई आगामी बैशाख १० गतेभित्र आफ्ना सुझाव तथा राय पेश गर्न आग्रह गरेको छ। प्राप्त सुझावका आधारमा मस्यौदालाई परिमार्जन गरी अन्तिम रूप दिइने जनाइएको छ।
सरकारले यस प्रक्रियामार्फत दलहरूबीच साझा समझदारी निर्माण गर्दै दीर्घकालीन राष्ट्रिय लक्ष्य निर्धारण गर्ने उद्देश्य राखेको छ। यस्तो साझा प्रतिबद्धताले नीति निर्माण तथा कार्यान्वयनमा स्थायित्व ल्याउने र सरकारी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।















