गृहपृष्ठ १६ औँ औद्योगिक प्रदर्शनीमा लोकदोहोरी र लोकभजनको आकर्षण
१६ औँ औद्योगिक प्रदर्शनीमा लोकदोहोरी र लोकभजनको आकर्षण
पुस १५, २०८२
बुटवल । बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा शीतलहरका बाबजुद दर्शकको उल्लेखनीय भीड देखिएको छ। प्रदर्शनीअन्तर्गतको सांस्कृतिक कार्यक्रममध्ये सबैभन्दा आकर्षक मानिएको लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घर बुटवलले जितेको छ।
पुस ३ गतेदेखि सञ्चालन भएको प्रदर्शनीमा मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा खस्यौली रोधी घरले प्रथम स्थान हासिल गर्दै ८८ हजार ८ सय ८८ रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो।
त्यसैगरी दोस्रो स्थान दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश, तेस्रो दोहोरी गीत प्रतिष्ठान पाल्पा र सान्त्वना दोहोरी गीत प्रतिष्ठान रुपन्देहीले प्राप्त गरेका छन्। उनीहरूले क्रमशः ४४ हजार ४ सय ४४, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
खुला राष्ट्रिय लोकभजन प्रतियोगितामा पञ्चायन भजन मण्डली सैनामैना प्रथम भएको छ भने कलौनी कान्तिपुर बोर्डिङ स्कुल सैनामैना तथा राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान सुनवल दोस्रो भएका छन्। तेस्रो स्थान जनकल्याणकारी भजनकीर्तन समूह शुद्धोधन–२ हिरापुर र देवदह भजनकीर्तन समूह रुपन्देहीले संयुक्त रूपमा हासिल गरेका छन्।
विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल प्रथम, तिनाउ बोर्डिङ दोस्रो र अक्सफोर्ड बोर्डिङ तेस्रो भएका छन्। प्रदर्शनी आइडल प्रतियोगिताको नतिजा भने बुधबार सार्वजनिक हुने जनाइएको छ।
संघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन उपसमिति संयोजक हरिबहादुर खत्रीका अनुसार मंगलबार सार्वजनिक बिदाको अन्तिम दिन परेकाले बिहानैदेखि प्रदर्शनीमा अत्यधिक भीड लागेको थियो। सचिव मञ्जु भुसालले अवलोकनसँगै कारोबारसमेत बढेको बताउँदै महिला उद्यमीका स्टलहरूमा विशेष आकर्षण देखिएको जानकारी दिनुभयो।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ सञ्चालन भइरहेको प्रदर्शनीमा ३९ जिल्लाका स्वदेशी उद्योगहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार प्रदर्शनीबाट करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ।










