गृहपृष्ठ आलम प्रकरण : सफाइ दिने न्यायाधीशमाथि छानविन माग गर्दै न्यायपरिषदमा उजुरी
आलम प्रकरण : सफाइ दिने न्यायाधीशमाथि छानविन माग गर्दै न्यायपरिषदमा उजुरी
१६ जेठ, काठमाडौं ।
रौतहट बम विस्फोट प्रकरणमा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमसहितका अभियुक्तहरुलाई सफाइ दिने निर्णय गर्ने दुई न्यायाधीशविरुद्ध छानविनको माग गर्दै न्यायपरिषदमा औपचारिक उजुरी परेको छ।
न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध उजुरी दर्ता गराएका युवराज पौडेलले उनीहरुको फैसलाले न्यायप्रक्रियामै गम्भीर असर पार्ने भन्दै तत्काल निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। उजुरीमा उनीहरूले यसअघि गरेका फैसलाहरूको समेत समिक्षा गरिनुपर्ने माग राखिएको छ।
पौडेलको आरोप अनुसार, थारु र महर्जनले जिल्ला अदालतले औंल्याएका प्रमाण र मिसिलमा संलग्न साक्ष्यहरूलाई बेवास्ता गर्दै आलमलाई सफाइ दिने निर्णय गरेका छन्। यसअघि जिल्ला अदालतले आलमसहितका अभियुक्तलाई व्यक्तिहत्यामा संलग्न ठहर गर्दै विशेष प्रकारको आदेशसमेत जारी गरेको थियो, जसले पीडित र साक्षीको सुरक्षालाई प्राथमिकता दिएको थियो।
पौडेलको उजुरीमा न्यायपरिषद ऐनअन्तर्गत न्यायाधीशहरूको कार्यक्षमता, आचरण र आचारसंहिताको उल्लंघनसम्बन्धी प्रावधानअनुसार छानविन हुनुपर्ने औंल्याइएको छ। यद्यपि निवेदनमा सो प्रावधान स्पष्ट उल्लेख नगरिए पनि पौडेलले न्यायाधीशहरूको कार्यसम्पादनमा गम्भीर प्रश्न उठाएका छन्।
गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट आलमलगायत अभियुक्तहरूलाई सफाइ दिने फैसलासँगै न्यायाधीशद्वयको निर्णयमाथि सामाजिक र कानुनी वृत्तमा व्यापक आलोचना भइरहेको छ। बम विस्फोटमा गम्भीर घाइते भएका व्यक्तिहरुलाई इँटाभट्टामा जिउँदै जलाइएको आरोप लागेपछि आलमविरुद्ध लामो समयदेखि मुद्दा चलिरहेको थियो।









