गृहपृष्ठ आठ वाणिज्य बैंकले घटाए ब्याजदर, मुद्दती खातामा अधिकतम ५.१ प्रतिशतसम्म

आठ वाणिज्य बैंकले घटाए ब्याजदर, मुद्दती खातामा अधिकतम ५.१ प्रतिशतसम्म


माघ २७, २०८२

काठमाडौं । फागुन महिनाका लागि आठ वटा वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन् । सार्वजनिक गरिएको नयाँ ब्याजदर तालिका अनुसार ती बैंकहरूले मुद्दती खाताको ब्याजदर घटाएका हुन् ।

२० वाणिज्य बैंकमध्ये आठ बैंकले ब्याजदर घटाएका छन् । तीमध्ये चार बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर मात्रै घटाएका छन् भने बाँकीले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा कटौती गरेका छन् ।

ग्लोबल आईएमई बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत विन्दु र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत तथा संस्थागत दुवैमा ०.५० प्रतिशत विन्दुले कटौती गरेको छ । नेपाल एसबीआई बैंकले पनि व्यक्तिगत र संस्थागततर्फ क्रमशः ०.१५ र ०.०३ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । सिद्धार्थ बैंकले व्यक्तिगतमा ०.३ प्रतिशत र संस्थागतमा ०.२५ प्रतिशत विन्दुले दर घटाएको छ ।

प्राइम कमर्सियल, एभरेस्ट र कृषि विकास बैंकले समान ०.१५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.११ प्रतिशत विन्दुले कटौती गरेको छ ।

यो समायोजनसँगै व्यक्तिगत मुद्दती खातामा अधिकतम ५.१ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा अधिकतम ४ प्रतिशतसम्म ब्याजदर कायम भएको छ । व्यक्तिगत निक्षेपतर्फ नेपाल बैंकले सबैभन्दा उच्च दर तोकेको छ भने हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया र एनएमबी बैंकले ५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

संस्थागत मुद्दती खातामा भने अधिकतम ब्याजदर ४ देखि २.७५ प्रतिशतसम्म कायम छ । केही बैंकले संस्थागत निक्षेपको ब्याजदर २.७५ प्रतिशतसम्म झारेका छन् ।

बजारमा तरलता पर्याप्त रहनु र ऋणको माग उल्लेख्य नबढ्नुका कारण बैंकहरूको ब्याजदर घट्ने क्रम जारी रहेको छ । राष्ट्र बैंकले पनि तरलता व्यवस्थापनका लागि अल्पकालीन निक्षेप संकलन उपकरण जारी गरिरहेको छ, जसको ब्याजदर २.७५ प्रतिशत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु