गृहपृष्ठ केआईआईटीमा मृत फेला परेकी प्रिशा शाहको पोष्टमार्टम परिवार पुगेपछि मात्र गरिने

केआईआईटीमा मृत फेला परेकी प्रिशा शाहको पोष्टमार्टम परिवार पुगेपछि मात्र गरिने


११ वैशाख, काठमाडौं — भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत अवस्थामा फेला परेकी नेपाली छात्रा प्रिशा शाहको पोष्टमार्टम उनको पिता र अन्य परिवारका सदस्यहरू ओडिसा पुगेपछि मात्र गरिने भएको छ।

दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दासका अनुसार, स्थानीय प्रहरीले शाहको शवलाई केआईएमएस अस्पतालमा राखेको छ र परिवार उपस्थित भएपछि मात्रै पोष्टमार्टम प्रक्रिया अगाडि बढाइनेछ।

दासले जानकारी दिएअनुसार भारतीय प्रहरीले यस घटनामा सुरु देखिनै संलग्नता जनाउँदै मोबाइल फोन, ल्यापटप लगायत शाहका व्यक्तिगत सामग्रीहरू बरामद गरिसकेको छ। तर, ती सामग्रीको डिजिटल परीक्षण परिवारको सहमति प्राप्त भएपछि मात्रै सम्भव हुने उनले बताए।

“नेपालमा जस्तो प्रहरी आफैंले मोबाइल खोलेर अनुसन्धान गर्न सक्दैन। भारतीय कानुनअनुसार पीडित पक्षको सहमति अनिवार्य रहन्छ,” दासले अनलाइनखबरसँग भने।

१८ वर्षीया शाह केआईआईटीमा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन्। उनको मृत्युको जानकारी पाएपछि भुवनेश्वरका उच्च प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेका थिए। फरेन्सिक टोलीले पनि प्रारम्भिक अनुसन्धान गरिसकेको छ।

भुवनेश्वरका पुलिस कमिश्नर देवदत्त सिंहले ओडिसास्थित ओटीभीसँगको कुराकानीमा बिहान ७ बजे होस्टल कर्मचारी शाहको कोठामा गए पनि कुनै प्रतिक्रिया नआएपछि जाँच गर्दा उनी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए।

“हामीले तुरुन्तै वैज्ञानिक टोली खटायौं र कोठाको विस्तृत अन्वेषण गर्यौं,” सिंहले भने, “बेड, टेबल, डायरीसहित अन्य सामग्रीहरू जफत गरिएको छ।”

उनका अनुसार प्रहरीले निष्पक्ष अनुसन्धान गरिरहेको छ र कलेज प्रशासनसहित सबैलाई सहयोगको अनुरोध गरिएको छ।

यसअघि ४ फागुनमा सोही कलेजकी अर्की नेपाली छात्रा प्रकृति लम्सालको पनि मृत्यु भएको थियो। उनले आफूमाथि एक युवकबाट मानसिक यातना भोगिरहेको भन्दै कलेज प्रशासनमा पटक–पटक उजुरी दिएकी थिइन्। तर, सुनुवाइ नभएको आरोपका बीच उनी आत्महत्या गर्न बाध्य भएकी थिइन्।

त्यो घटनापछि विद्यार्थीहरूद्वारा गरिएको शान्तिपूर्ण प्रदर्शनमा कलेज प्रशासनको कठोर प्रतिक्रियाले आलोचना झेल्नुपरेको थियो। त्यसपछि नेपाल सरकारले कुटनीतिक पहलमार्फत निष्पक्ष अनुसन्धानको मागसमेत गरेको थियो। उक्त घटनामा लम्साललाई मानसिक यातना दिएको आरोपमा बीटेक तेस्रो वर्षका विद्यार्थी अड्विक श्रीवास्तवलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु