गृहपृष्ठ फिनिशिङ क्षमताको अभाव: नेपालका लागि टी२० फाइनल फेरि एउटा सिकाइको घडी

फिनिशिङ क्षमताको अभाव: नेपालका लागि टी२० फाइनल फेरि एउटा सिकाइको घडी


३१ चैत, काठमाडौं । बसिर अहमदले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ८० रन बनाए पनि खेलको अन्तिम क्षणमा फिनिशिङ गर्न नसक्दा नेपाल हङकङ टी२०आई सिरिजको उपाधिबाट चुक्दै उपविजेतामै सीमित भएको छ।

हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा आइतबार सम्पन्न फाइनलमा नेपाल कुवेतसँग ३ रनको झिनो अन्तरले पराजित भयो।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९.३ ओभरमा १७१ रनमै समेटियो। यसअघि लिग चरणमा नेपालले कुवेतविरुद्ध नै टी२०आई इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पछ्याएर जित निकालेको थियो, तर फाइनलमा भने कुवेतले बदला लियो।

अन्तिम ओभरमा नेपाललाई ११ रन आवश्यक थियो। कुवेतका अनुदिन चिन्थामारा बलिङ गर्न आएका थिए। पहिलो बलमा उनले नो बल फाले जसमा बसिरले छक्का प्रहार गरेका थिए। त्यसपछि नेपाललाई ६ बलमा ४ रन आवश्यक थियो। तर, बसिरले लगातार दुई बल डट खेलेपछि तेस्रो बलमा आफैँ क्याच आउट हुँदा नेपालको जितको सम्भावना टुट्यो।

बसिरले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रन जोडे भने नन्दन यादवले १४ बलमा २ चौका र ४ छक्का सहित ३७ रनको योगदान दिए। ओपनर अफिफ शेखले २१ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालले ९२ रनमै ८ विकेट गुमाइसकेको अवस्थामा बसिर र नन्दनले नवौँ विकेटका लागि कीर्तिमानी ७२ रनको साझेदारी गर्दै टोलीलाई पुनः प्रतिस्पर्धामा फर्काएका थिए। टी२०आईमा यो साझेदारी नेपालका लागि नवौँ विकेटमा अहिलेसम्मकै उच्च हो।

कुवेतले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो। पावर प्लेमै ७१ रन बनाएको कुवेतले ९ ओभरमा १०० रन पार गरिसकेको थियो। यद्यपि, नेपाली बलरहरूले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम ११ ओभरमा ७४ रनमा सीमित गरे।

कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले ३६ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रन बनाए। क्लिन्टो अन्टोले १४ बलमा २६ रन, उस्मान पटेलले १५ बलमा २३ रन, र मित भवसारले ८ बलमा १६ रन जोडे।

नेपालका बलर सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिँदा करण केसी र कुशल भुर्तेलले समान १-१ विकेट लिए।

नेपालको ब्याटिङ पुनरागमन प्रशंसनीय रहे पनि फिनिशिङमा कमजोरी देखिएकोले उपाधि जित्ने सुनौलो अवसर गुमायो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु