गृहपृष्ठ बाढी प्रभावितको उद्धार र राहतमा पार्टी पङ्क्ति परिचालन गर्ने रास्वपा सचिवालयको निर्णय

बाढी प्रभावितको उद्धार र राहतमा पार्टी पङ्क्ति परिचालन गर्ने रास्वपा सचिवालयको निर्णय


भदौ १०,२०८३
बुटवल टाइम्स

काठमाडौ – चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ।

रास्वपाले बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

पार्टी सचिवालयको बैठकले विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि सरकारको प्रयासमा सहयोग गर्न ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। सहयोग सरकारको एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने र राहत वितरणलाई पारदर्शी तथा प्रभावकारी बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

रास्वपाले बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, शुद्ध पिउने पानी, औषधि तथा खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। साथै, केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा परिचालन हुन निर्देशन दिएको छ।

त्यस्तै, बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन, प्रभावित क्षेत्रमा सम्भावित महामारी नियन्त्रणका लागि स्वास्थ्य टोली परिचालन गर्न र घरबारविहीन परिवारलाई उचित क्षतिपूर्तिसहित दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

विपद्को समयमा फैलिन सक्ने भ्रामक सूचना र अफवाह नियन्त्रण गर्न आधिकारिक सरकारी निकायबाट जारी सूचनालाई मात्र आधार मान्न तथा नदी तटीय र पहिरोको उच्च जोखिममा रहेका नागरिकलाई सतर्क रहन रास्वपाले अपिल गरेको छ।

विपद्को अवस्थालाई मध्यनजर गर्दै रास्वपाले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा सांगठनिक गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णयसमेत गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा विपद्को यस कठिन घडीमा सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबै निकायसँग सहकार्य गर्दै उद्धार, राहत र पुनःस्थापनामा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु