गृहपृष्ठ बुद्धभूमिमा प्रचण्डको पाईला: भौगोलिक भ्रमणसँगै वैचारिक पुनर्संरचना
बुद्धभूमिमा प्रचण्डको पाईला: भौगोलिक भ्रमणसँगै वैचारिक पुनर्संरचना
भैरहवा,बैशाख ४ नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान अन्तर्गत पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख ३ गते भैरहवामा प्रवेश गर्दैछन्। यो अभियान केवल राजमार्ग भ्रमण होइन, पार्टीको सांगठानिक पुनरुत्थानको संकेतस्वरूप जनस्तरसम्मको गहिरो पहुँच प्रयास पनि हो। पश्चिम नवलपरासीबाट सुरु हुने प्रचण्डको यात्राले धकधई हुँदै भैरहवासम्म प्रवेश पाउने र त्यही रात जनताको घरमा बास बस्ने तालिका रहेको माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए।
अभियानमा अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष फम्फा भसाल, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, अग्नी सापकोटा, वर्षमान पुनलगायतका शीर्ष नेताहरूको टोली समेत सहभागी हुनेछ। यो टोलीको उद्देश्य जनतासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै संगठनात्मक बल निर्माण गर्नु हो।
वैशाख ४ गते बिहान ५:३० बजे मिलनचोकबाट मर्निङ वाक सुरु हुनेछ, जसमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणसहित बुद्धचोकमा चियापान कार्यक्रम राखिएको छ। सोही दिन होटल पौवामा युवाहरू र विद्यार्थीहरूसँग अन्तरक्रिया, त्यसपछिका समयमा व्यापारी, बुद्धिजीवी तथा उद्योगीहरूसँग अलग–अलग छलफल र अन्त्यमा सहिद परिवारसँग सामूहिक भोजनको कार्यक्रम तय गरिएको छ।
मध्यान्ह १ बजे मर्चवार गाउँपालिकास्थित मझगाउँमा आयोजना हुने विशाल जनसभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने छन्। यसपछि उनी लुम्बिनीको अवलोकनमा निस्किने र साँझतिर कपिलवस्तुतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
चैत ३१ गते भैरहवामा सम्पन्न माओवादी केन्द्रको तयारी बैठकले सबै तहका समितिहरूलाई सक्रिय पार्दै स्थानीय तहहरूसँग समन्वयमा कार्ययोजना निर्माण गर्ने निर्णय गरेको थियो। बैठक संयोजक जिसीको अध्यक्षतामा र स्थायी समिति सदस्य हक्कि कुल्ला खाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
यो अभियान केवल यात्रामात्र होइन, माओवादी केन्द्रको सांगठनिक पुनर्संरचनाको आधार हो। यसले जनताको जीवनस्तर, माग र वास्तविकतालाई नजिकबाट बुझ्न सहयोग पुर्याउनेछ। त्यसैगरी, पार्टीले आगामी निर्वाचनमा एकलरूपमा प्रतिस्पर्धा गर्ने रणनीतिक तयारिको सुरुवात पनि यहींबाट हुने विश्वास गरिएको छ।









