गृहपृष्ठ १४ वर्षे संकल्पको पूर्तिमा प्रधानमन्त्री मोदी स्वयं जुत्ता लगाइदिएपछि भावुक बने रामपाल
१४ वर्षे संकल्पको पूर्तिमा प्रधानमन्त्री मोदी स्वयं जुत्ता लगाइदिएपछि भावुक बने रामपाल
२०८२ वैशाख २ गते
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक व्यक्तिलाई आफ्नै हातले जुत्ता लगाइदिएको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
तर, मोदीले जुत्ता लगाइदिएका व्यक्ति को हुन्? र, किन प्रधानमन्त्री आफैंले उनलाई जुत्ता लगाइदिए? आउनुहोस्, यो रोचक घटनाबारे विस्तृतमा जानौं।
प्रधानमन्त्री मोदीले सोमबार संविधान निर्माता डा. भीमराव अम्बेडकरको जयन्तीको अवसरमा हरियाणामा आयोजित र्याली तथा सभामा सहभागिता जनाएपछि कैथल जिल्लाको खण्ड सीवन अन्तर्गत खेड़ी गुलाम अली गाउँका रामपाल कश्यपलाई जुत्ता लगाइदिएका थिए। यही दृश्यको फोटो र भिडियो अहिले भाइरल भएको हो।
भारतीय मिडियाहरूका अनुसार, रामपाल १४ वर्षदेखि नाङ्गो खुट्टा हिँडिरहेका थिए। गर्मी, जाडो, वर्षा, यहाँसम्म कि आफ्नै छोराको विवाहमा पनि उनले जुत्ता लगाएनन्। उनले संकल्प गरेका थिए कि जबसम्म भारतमा भाजपाको नेतृत्वमा सरकार बन्दैन र मोदी प्रधानमन्त्री बन्दैनन्, तबसम्म उनी जुत्ता लगाउने छैनन्।
दैनिक जागरणसँगको कुराकानीमा रामपाल कश्यपले भने, “मैले सन् २०१२ मा संकल्प गरेको थिएँ—नरेन्द्र मोदीको नेतृत्वमा देशमा भाजपा सरकार नबन्दासम्म र जबसम्म उनीसँग प्रत्यक्ष भेट हुँदैन, म जुत्ता लगाउने छैन।”
हालाँकि, सन् २०१४ मै उनी प्रधानमन्त्री बनेका थिए, तर रामपालले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट नहुँदासम्म आफ्नो संकल्प पुरा मान्ने मानेनन्।
सोमबार, जब प्रधानमन्त्री मोदीसँग रामपालको भेट भयो, उनले आफ्नै हातले रामपाललाई नयाँ जुत्ता लगाइदिए।
सुरुमा प्रधानमन्त्रीले उनलाई हात मिलाउँदै सोधे, “यस्तो किन गर्नुभयो?”
रामपालले आफ्नो संकल्प सुनाएपछि मोदीले भने, “आज हामी तपाईंलाई जुत्ता लगाइदिँदैछौं। अब फेरि कहिल्यै यस्तो नगर्नुहोस्। काम गर्नुपर्छ। आफैँलाई कष्ट दिनु हुँदैन।”
त्यसपछि मोदीले उनलाई नयाँ जुत्ता लगाइदिए र लेस बाँध्न पनि सहयोग गरे। “सबैभन्दा ठूलो सपना पुरा भयो,” रामपालले भने।








