गृहपृष्ठ बाढीपीडितका नाममा अनधिकृत रूपमा रकम नउठाउन प्रधानमन्त्री कार्यलयकाे चेतावनी

बाढीपीडितका नाममा अनधिकृत रूपमा रकम नउठाउन प्रधानमन्त्री कार्यलयकाे चेतावनी


भदौ १२,२०८३
बुटवल टाइम्स

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रूपमा रकम सङ्कलन नगर्न आग्रह गर्दै त्यस्तो कार्य गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग जुटाउने नाममा व्यक्ति, समूह तथा संस्थाले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएपछि सरकारले यस्तो आग्रह गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेका छन्। यसप्रति कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा प्राप्त सहयोगको पारदर्शी उपयोग, उचित व्यवस्थापन तथा सम्भावित वित्तीय ठगीबाट बच्न सरकारले सार्वजनिक गरेका आधिकारिक बैंक खाता र क्यूआर कोडमा मात्र सहयोग रकम जम्मा गर्न अनुरोध गरिएको छ।
सरकारले आर्थिक सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रहेका आधिकारिक खातामा मात्र रकम जम्मा गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंकका विभिन्न खाता विवरण सार्वजनिक गरिएको छ।
त्यस्तै, प्रधानमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १४३०१००००००२५००६ र १४३०१००००११६४००१ मा समेत सहयोग रकम जम्मा गर्न सकिने कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु