गृहपृष्ठ नेकपा २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ कार्यक्रम आयोजना गर्दै
नेकपा २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ कार्यक्रम आयोजना गर्दै
पुस २८, २०८२
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलवार २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम भौतिक र भर्चुअल दुवै माध्यमबाट सञ्चालन हुनेछ।
नेकपाका नेता गंगालाल तुलाधरका अनुसार, काठमाडौं उपत्यकामा रहेका सदस्यहरूले पार्टी कार्यालय, पेरिसडाँडामा दिउँसो १ बजे उपस्थित भई भौतिक रूपमा शपथ लिन सक्नेछन्। उपत्यका बाहिर रहेका सदस्यहरूले सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमा गएर भर्चुअल रूपमा शपथ लिन सक्ने व्यवस्था गरिएको छ। शपथ लिएका सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र पाउनेछन्।
शपथमा सहभागी हुने २४९९ सदस्यको नामावली टुङ्ग्याउन पेरिसडाँडामा छ सदस्यीय कार्यदल बैठक बसेको छ। कार्यदलमा पूर्व माओवादीका तर्फबाट देव गुरुङ, वर्षमान पुन र गिरिराजमणि पोखरेल रहेका छन् भने तत्कालीन एकीकृत समाजवादीका तर्फबाट प्रमेश हमाल, बेदुराम भुसाल र प्रकाश ज्वाला सहभागी छन्।
नेकपा स्रोतका अनुसार, २४९९ सदस्यभित्रबाट पदाधिकारी, केन्द्रीय कार्यालय, सचिवालय, आयोग, विभाग तथा निकाय गठन गर्ने तयारी भइरहेको छ।
एकता भइसकेका विभिन्न वाम घटकका नेताहरूले आफ्ना तर्फका नाम पेश गरेका छन्। सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल र वामदेव गौतमले आफ्ना समूहका नाम प्रस्ताव गरेका हुन्। कार्यदलमा रहेका हमाल र भुसाल माधवपक्षको प्रतिनिधित्व गर्छन् भने ज्वाला झलनाथ समूहको प्रतिनिधित्व गर्दैछन्।










