गृहपृष्ठ निर्वाचन आयोगले चुनावी प्रचार–प्रसारसम्बन्धी आचारसंहिता जारी
निर्वाचन आयोगले चुनावी प्रचार–प्रसारसम्बन्धी आचारसंहिता जारी
पुस १४, २०८२
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सञ्चारमाध्यममार्फत् सीमित रूपमा चुनावी प्रचार–प्रसार गर्न पाउने व्यवस्था गरेको छ।
‘निर्वाचन आचारसंहिता, २०८२’ अनुसार टेलिभिजन, रेडियो वा एफएमबाट २४ घण्टामा बढीमा चार पटक र एक पटकमा अधिकतम एक मिनेटसम्म मात्र विज्ञापन प्रसारण गर्न पाइनेछ। पत्रपत्रिकामा दैनिक एक पत्रिकामा चार कोलम × २५ सेन्टिमिटरसम्म प्रचार सामग्री छाप्न सकिने व्यवस्था छ।
अनलाइन सञ्चारमाध्यमबाट गरिने प्रचार सामग्रीमा ‘सःशुल्क विज्ञापन’ उल्लेख गर्नुपर्नेछ भने गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति निषेध गरिएको छ। अनलाइन प्रचार खर्च पनि निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्नेछ।
विदेशी सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी प्रचार सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने आयोगले स्पष्ट गरेको छ।










