गृहपृष्ठ प्रतिनिधि सभा निर्वाचनमा दल दर्ता सङ्ख्या ५६ पुग्यो
प्रतिनिधि सभा निर्वाचनमा दल दर्ता सङ्ख्या ५६ पुग्यो
मंसिर ८, २०८२
काठमाडौँ — आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता भएका दलहरूको संख्या ५६ पुगेको छ। निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० दल दर्ता भइसकेका थिए, भने आइतबार एकैदिन १६ दल थपिएका छन्।
आइतबार दर्ता भएका दलहरूमा नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी लगायतका दल समावेश छन्। यस्तै जय मातृभूमि पार्टी, नेपाल नौलो जनवादी पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वाभिमान पार्टी, जनप्रजातान्त्रिक पार्टी र जनता प्रगतिशिल पार्टी नेपाल पनि शुक्रबार दर्ता भएका हुन्।
आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर ७ गतेसम्म दलहरूले दर्ता गराइसक्नुपर्नेछ। प्रतिनिधि सभा तर्फ दर्ता प्रक्रिया सुरु भएपछि पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन ५ दल, तेस्रो र चौथो दिन ८–८ दल, पाँचौँ दिन ७ दल र सातौँ दिन आइतबार १६ दल दर्ता भएका छन्।
उता, आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता हुने दलहरूको संख्या १३ पुगेको छ। आइतबार मात्र नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र तराई मधेश लोकतान्त्रिक पार्टी आयोगमा दर्ता भएका छन्। राष्ट्रिय सभा तर्फ पहिलो दिन ३ दल, दोस्रो दिन १ दल, तेस्रो दिन २ दल, पाँचौँ दिन २ दल र सातौँ दिन ४ दलले दर्ता गरेका छन्।










