गृहपृष्ठ विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा राताे मसी फ्याँकियाे
विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा राताे मसी फ्याँकियाे
मंसिर ७, २०८२
विराटनगर, नेपाल — नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आइतबार विराटनगरमा आक्रमणको प्रयास भएको छ। सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतमाथि विमानस्थल बाहिर रातो मसी फ्याँकिएको प्रहरीले पुष्टि गरेको छ।
बस्नेत सवार गाडी लक्षित गर्दै मसी फ्याँकिएपछि केही व्यक्तिहरूले नाराबाजीसमेत गरेका थिए। सुरक्षा चुनौतिलाई मध्यनजर राख्दै बस्नेतको भ्रमण पार्टी र सुरक्षा निकायले गोप्य राखेका भए पनि ‘हाई अलर्ट’का बीच उनीमाथि यस्तो प्रयास भएको हो।
विमानस्थलमा अवतरण तत्कालै उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा घेरामा राखिएको थियो। संवेदनशीलता उच्च भएकाले सर्वसाधारण यात्रु निस्कने मुख्य निकासबाटै स्कर्टिङमार्फत गन्तव्यतर्फ लैजाने व्यवस्था मिलाइएको थियो।
बस्नेत राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशले इटहरीमा आयोजना गरेको ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर–संवाद’ सम्बोधन गर्न विराटनगर आएका थिए। उनीसँगै UML नेता भानुभक्त ढकाल पनि कार्यक्रममा सहभागी हुन आएका छन्।









