गृहपृष्ठ निर्वाचनका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

निर्वाचनका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता


आश्विन २१, २०८२

२१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगका पदाधिकारीसँग ब्रिफिङ लिँदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत–साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।

प्रधानमन्त्री कार्कीले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोग पदाधिकारीहरूसँग भेट गर्दै सरकारको सम्पूर्ण ध्यान चुनाव तयारीमै केन्द्रित रहेको बताएकी थिइन्

‘निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सबै आवश्यक पूर्वाधार र वातावरण तयार पार्नेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीले आयोगलाई आवश्यक स्रोत–साधनका विवरण प्रस्तुत गर्न निर्देशन दिनुभएको छ ।’

भेटका क्रममा आयोग पदाधिकारीहरूले आयोगले हालसम्म गरेको कार्यप्रगति, तयारी र कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेकाले त्यसको कार्यान्वयनका विषयमा सरकार, आयोग र राजनीतिक दलबीच सहकार्य कसरी सुदृढ गर्ने भन्नेबारे विस्तृत छलफल भएको थियो ।

भट्टराईले भने, ‘स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी निर्वाचन गराउने आयोगको लक्ष्य हो । त्यसका लागि आवश्यक स्रोत–साधनको व्यवस्थापनमा सरकारले सहयोग पुर्‍याउने विश्वास लिएका छौं ।’

आयोग पदाधिकारीहरूले आगामी दिनमा निर्वाचनका तयारी र व्यवस्थापनका विषयमा राजनीतिक दलहरूसँग पनि औपचारिक परामर्श गर्ने तयारी भइरहेको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटनसहित फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको हो ।

त्यसअघि मतदाता नामावली संकलनका लागि अध्यादेश जारी गरिएको र आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु