गृहपृष्ठ विजय दिवस परेडमा पुटिनदेखि ओलीसम्म: बेइजिङमा ५० हजारको उपस्थितिसहित भव्य कार्यक्रम

विजय दिवस परेडमा पुटिनदेखि ओलीसम्म: बेइजिङमा ५० हजारको उपस्थितिसहित भव्य कार्यक्रम


२०८२ भदौ १६

बेइजिङ । दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गरेको ८० वर्ष पुगेको अवसरमा चीनले बुधबार राजधानी बेइजिङको तियानमेन स्क्वायरमा भव्य विजय दिवस परेड आयोजना गरेको छ। राष्ट्रपति सी चिनफिङले औपचारिक रूपमा परेडको उद्घाटन गर्दै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीलाई जोड दिए।

चिनफिङले युद्धमा योगदान दिने दिग्गज, साथी र देशभक्तप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परेडमा सहभागी विश्व नेताहरूलाई स्वागत गरे। उनले विगतका त्रासदीपूर्ण युद्धका कारणलाई अन्त्य गर्न र फेरि दोहोरिन नदिन सबै मुलुकले समान व्यवहार, आपसी मेलमिलाप र सहकार्यमा जोड दिनुपर्ने बताए।

यो परेडमा १० हजारभन्दा बढी सैनिक सहभागी थिए। चिनियाँ सञ्चारमाध्यमका अनुसार सयौँ आधुनिक हतियारसहितको प्रदर्शन हेर्न ५० हजारभन्दा बढी नागरिक तियानमेन स्क्वायरमा भेला भएका थिए। राष्ट्रपति चिनफिङको अध्यक्षतामा आयोजित यो उनको कार्यकालको तेस्रो ठूलो सैन्य परेड मानिन्छ। चीनले यसलाई पश्चिमी मुलुकविरुद्ध ‘ग्लोबल साउथ’को एकता र आफ्नो सैन्य क्षमताको प्रदर्शनका रूपमा पनि प्रस्तुत गरेको छ।

विश्व नेताहरूको उपस्थितिसहित शक्ति प्रदर्शन

यस अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ–उन, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमलगायत उच्चस्तरीय पाहुनाहरू उपस्थित थिए। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि परेडमा सहभागी भएका थिए।

मानव सभ्यताको रक्षा चीनको योगदान

भाषणका क्रममा चिनफिङले जापानी आक्रमणविरुद्धको युद्धलाई चीनका लागि कठिन तर ऐतिहासिक विजयको रूपमा स्मरण गरे। उनका अनुसार यो आधुनिक समयमा कुनै विदेशी आक्रमणविरुद्ध चीनले जितेको पहिलो ठूलो युद्ध थियो।
उनले यो विजय चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को नेतृत्व र राष्ट्रिय एकताको परिणाम भएको बताए। युद्धका क्रममा चीनले दिएको बलिदानले मानव सभ्यताको रक्षा र विश्व शान्तिको जोगावटमा ठूलो योगदान गरेको उनले दाबी गरे।

चिनफिङले आजको युगलाई ‘शान्ति वा युद्ध, संवाद वा टकराव’मध्ये छनोट गर्ने निर्णायक क्षणको रूपमा चित्रित गरे। उनले चीन शान्ति र विकासको बाटोमा अडिग रहने र अन्य मुलुकहरूसँग मिलेर साझा भविष्य निर्माण गर्नेमा प्रतिबद्ध रहेको बताए।

ऐतिहासिक पृष्ठभूमि

चीन र जापानबीचको युद्ध सन् १९३७ मा सुरु भएको थियो। जापानी सेनाले चीनको ठूलो भूभाग कब्जा गर्दै नानजिङमा गरिएको नरसंहारमा करिब तीन लाख मानिस मारिएका थिए।
यस युद्धलाई सन् १९३९ मा सुरु भएको दोस्रो विश्वयुद्धकै एक अंश मानिन्छ।

अन्ततः अमेरिकाद्वारा हिरोशिमा र नागासाकीमा गरिएको आणविक आक्रमणपछि जापानले १५ अगस्ट १९४५ मा आत्मसमर्पण गरेको थियो। त्यसपछि २ सेप्टेम्बर १९४५ मा जापानले चीनविरुद्ध पनि हार स्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु