गृहपृष्ठ विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकको बृहत् आन्दोलन तयारी

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकको बृहत् आन्दोलन तयारी


२०८२ भदौ १६

काठमाडौँ – विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकका विभिन्न सङ्घ–संस्थाहरूको संयुक्त आन्दोलन समितिले चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेको छ। समितिले भोलि १९ भदौदेखि सुरु हुने कार्यक्रमहरूको रूपरेखा सार्वजनिक गरेको छ।

आन्दोलन कार्यक्रम अनुसार, भोलि बिहान ११ बजे देशभरका सबै जिल्ला सदरमुकाममा आन्दोलनरत विद्यालयका सदस्यहरूको अनिवार्य उपस्थितिमा बृहत् खबरदारी सभा आयोजना हुनेछ।

काठमाडौँ उपत्यकामा भोलि नै तिलगंगा स्थित होटल वेस्टर्न प्लसमा दिउँसो २ बजे निर्णायक आन्दोलन तयारी सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने छ। साथै, संयुक्त आन्दोलन समितिले भोलि सञ्चारमाध्यमसँग अन्तरक्रिया, २० भदौ तयारी बैठक र प्रमुख राजनीतिक दलसँग भेट, २२ भदौ निजी क्षेत्रका सरोकारवालासँग बृहत् अन्तरक्रिया, २३ भदौ देशभरिका निजी विद्यालयका सञ्चालकहरूलाई काठमाडौंमा केन्द्रित गर्ने र २४ भदौ सङ्घीय सांसदसँग भेटघाट गर्ने कार्यक्रम तय गरेको छ।

समितिले जनाएको छ कि २५ भदौमा काठमाडौंमा बृहत् आन्दोलन सञ्चालन हुनेछ, जसमा सबै निजी विद्यालय सञ्चालक, प्रिन्सिपल तथा शिक्षक–कर्मचारीहरूको अनिवार्य सहभागिता रहनेछ।

आन्दोलन समितिका अनुसार, शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित विधेयकका प्रावधान निजी शिक्षा प्रतिकूल छन्। प्याब्सन, नेशनल प्याब्सन, हिसान, एपेन, एनएमए लगायतका संस्थाहरू यस आन्दोलनमा आबद्ध छन्।

प्रमुख मागहरू

  • कम्पनी ऐन अनुसार दर्ता भएका विद्यालयलाई ‘गैर–नाफामूलक’ बनाउने प्रावधान हटाउन।

  • ‘पूर्ण छात्रवृत्ति’ शब्दावली हटाउन।

  • विद्यालयमा उत्पादन हुने पोसाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना–खाजा लगायतका सेवामा अनावश्यक प्रतिबन्ध हटाउन।

  • छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गरी लक्षित वर्गलाई वितरण गर्ने व्यवस्था मिलाउन।

  • छात्रवृत्ति सम्बन्धी ऐन २०७९ को दफा २ (क), नियमावली २०८० को नियम १० (क) र २०७७ को संशोधित ११ वटा विभेदकारी प्रावधान तत्काल खारेज गर्न।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु