गृहपृष्ठ उडान अवरुद्धपछि वैकल्पिक मार्ग—नेपाली साउदी हुँदै फर्किने

उडान अवरुद्धपछि वैकल्पिक मार्ग—नेपाली साउदी हुँदै फर्किने


चैत्र ४, २०८२

काठमाडौं । नेपाल सरकारले कुवेत, कतार र बहराइनमा रहेका नेपाली नागरिकलाई साउदी अरेबिया हुँदै गन्तव्य मुलुक पठाउने प्रक्रिया सुरु गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार बहराइन, कतार र कुवेतमा रहेका तथा स्वदेश फर्कन वा अन्य देश जान इच्छुक नेपालीहरूलाई साउदी अरेबियामार्फत यात्रा गराउने व्यवस्था मिलाइएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावासमार्फत आवश्यक सहजीकरण भइरहेको जानकारी दिएका छन्।

साउदी अरेबियास्थित नेपाली कार्यवाहक राजदूत सृजना अधिकारीका अनुसार हालसम्म ११० जना नेपालीले साउदी हुँदै गन्तव्यतर्फ जान भिसाका लागि आवेदन दिएका छन्। आवेदन दिने अधिकांश बेलायत जान इच्छुक रहेका छन् भने केही नेपाल फर्कने तयारीमा छन्।

मध्यपूर्व तनावले नेपाली प्रभावित

अमेरिका/इजरायल र इरानबीचको द्वन्द्व मध्यपूर्व तथा खाडी क्षेत्रमा फैलिँदै गएपछि त्यहाँ रहेका नेपालीहरू त्रसित भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उक्त क्षेत्रमा करिब १७ लाख २९ हजार नेपाली कार्यरत छन्।

द्वन्द्वका क्रममा इरानले विभिन्न खाडी मुलुकमा रहेका अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेपछि क्षेत्रको सुरक्षा अवस्था जटिल बनेको छ। यस क्रममा यूएईमा एक नेपालीको मृत्यु भएको छ भने १८ जना घाइते भएका थिए। घाइतेहरू उपचारपछि काममा फर्किसकेका छन्।

ट्रान्जिट अवरोधले समस्या

क्षेत्रीय तनावका कारण कुवेतको हवाई क्षेत्र पूर्ण रूपमा बन्द भएको छ भने कतार र बहराइनबाट पनि नियमित उडान प्रभावित भएका छन्। यसले ट्रान्जिटमा रहेका नेपालीहरू गन्तव्यमा पुग्न नसक्ने अवस्था सिर्जना भएको छ।

यही समस्यालाई समाधान गर्न नेपाल सरकारले साउदी अरेबियामार्फत वैकल्पिक यात्रा मार्ग अपनाएको हो। सडकमार्गबाट साउदी प्रवेश गरेपछि त्यहाँका विमानस्थलमार्फत यात्रुहरूलाई गन्तव्यतर्फ पठाइनेछ।

दूतावासहरूको सहजीकरण

कुवेतस्थित नेपाली दूतावासले सूचना जारी गर्दै रेसिडेन्सी वा सिभिल आइडी रद्द गरी उडानको प्रतीक्षामा रहेका तर हवाई सेवा अवरुद्ध भएका नेपालीलाई आफ्नै खर्चमा सडकमार्ग हुँदै साउदी प्रवेश गरी ट्रान्जिट भिसामार्फत नेपाल फर्कन सकिने जनाएको छ।

बहराइनस्थित दूतावासले साउदी ट्रान्जिट वा पर्यटक भिसाका लागि अनलाइनमार्फत आवेदन दिन सकिने जानकारी दिएको छ। कतारको दोहास्थित नेपाली दूतावासले पनि तोकिएको मिति र समयमा आवश्यक कागजातसहित भिसा सेवा केन्द्रमा उपस्थित हुन आग्रह गरेको छ।

७६ हजारभन्दा बढी नेपालीको विवरण संकलन

परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले समस्यामा परेका नेपालीहरूको विवरण संकलनका लागि वेब पोर्टल सञ्चालनमा ल्याएको छ। हालसम्म ७६ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्, जसमध्ये करिब पाँच हजारले आफू असुरक्षित रहेको बताएका थिए। पछि धेरैले आफ्नो अवस्था सुरक्षित रहेको अद्यावधिक गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगमा चेतावनी

मन्त्रालयका अनुसार यूएई, कुवेत र साउदी अरेबियामा भ्रामक सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन्। यूएईमा २, साउदी अरेबियामा ३ र कुवेतमा १ जना पक्राउ परेका हुन्।

दूतावासहरूले अपुष्ट सूचना, तस्बिर वा भिडियो सार्वजनिक नगर्न र स्थानीय कानूनको पालना गर्न आग्रह गरेका छन्। यस्तो कार्यमा संलग्न पाइए कडा सजाय हुन सक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु